Techie IT
शनिबार, असार १३,२०८३

रास्वपा पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट चयन भएको नयाँ पदाधिकारी टोलीमा सभापति रवि लामिछाने निकट नेताहरूको स्पष्ट वर्चस्व देखिएको छ। सहमहामन्त्रीमा निर्वाचित असिम शाहबाहेक सबै प्रमुख पदमा संस्थापन (लामिछाने) पक्षका उम्मेदवार विजयी भएका छन्। यद्यपि, सभापति लामिछानेले शपथ ग्रहणपछिको सम्बोधनमा महाधिवेशनले पार्टीभित्र कुनै पक्ष-विपक्ष नरहेको दाबी गरेका थिए।

पार्टी विधानअनुसार यसअघि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दुई उपसभापति (एक महिला), एक महामन्त्री र दुई सहमहामन्त्री (एक महिला) पदका लागि निर्वाचन भएको हो। सभापति लामिछानेले पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया अपनाइएको थियो।

पदाधिकारी निर्वाचनको परिणाम

  • उपसभापति (खुला): डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। अर्थमन्त्रीसमेत रहेका वाग्ले लामो समयदेखि सभापति लामिछानेका विश्वासपात्र मानिन्छन्।

  • उपसभापति (महिला): कानुनमन्त्री सोविता गौतम विजयी भएकी छन्। उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) निकट मानिने डा. तोषिमा कार्कीलाई पराजित गरिन्।

  • महामन्त्री: विपीन आचार्य निर्वाचित भएका छन्। रास्वपाका संस्थापक सदस्य तथा पूर्वसहमहामन्त्री आचार्यले मनीष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पारे। पराजित ढकाल र कार्कीलाई बालेन समर्थक धारका रूपमा हेरिएको थियो भने झाको पछिल्लो समय संस्थापनसँग दूरी बढेको चर्चा थियो।

  • सहमहामन्त्री (खुला): हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। ढकाल सभापति निकट हुन् भने शाह बालेन पक्षबाट विजयी हुने एक मात्र उम्मेदवार बनेका छन्। शाह हाल प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारसमेत हुन्। यस पदमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेललगायत १० जनाबीच प्रतिस्पर्धा भएको थियो।

  • सहमहामन्त्री (महिला): रवि लामिछाने पक्षकै नेतृ निशा डाँगी ७ सय ३७ मतसहित निर्वाचित भइन्। उनले रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीलाई पराजित गरेकी हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व


तपाईको कमेन्ट लेख्नुहोस्