Techie IT
बुधबार, वैशाख ९,२०८३

दुई दिन सार्वजनिक बिदाको निर्णय तत्काल फिर्ता लिन सांसदको माग


काठमाडौं । राष्ट्रियसभाका सांसदले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन । सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरे ।

“मध्यपूर्वको युद्धलाई निहुँ बनाएर हाम्रो सरकारले सरकारी र शिक्षण संस्थालाई दुई दिन बिदा गराउनु राम्रो होइन,” उनले भने ।

उनले कर्मचारीलाई सरकारले करिब तीन दिनसम्म ‘बेरोजगार’ राखेर मुलुकमा बेथिति निम्त्याउन खोजेको जिकिर गरे । निर्णय फिर्ता लिनुपर्नेमा उनले जोड दिए । उनले विद्यार्थीको पठनपाठनमा पनि उक्त निर्णयले असर गर्ने भन्दै आपत्ति जनाए ।

“करिब तीन दिन कर्मचारी र विद्यार्थीलाई बरोजगार राख्नु बेथिति सिर्जना गर्नु हुनसक्छ,” उनले भने, “यो निर्णय फिर्ता लिएर सहजता उपलब्ध गराउन म सरकारसँग जोडदार माग गर्दछु ।”

सांसद सावित्री मल्लले खाने पकाउने ग्याससहित पेट्रोललगायत इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिइन् । उनले बजारमा महँगी र दैनिक उपभोग्य वस्तुको समेत अभाव भएकाले त्यसलाई सहज र सुलभ बनाउने काममा पनि सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताइन् ।

सांसद मल्लले सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर आमउपभोक्तालाई मारबाट पार लगाउनुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दुई दिन सार्वजनिक बिदाको निर्णय तत्काल फिर्ता लिन सांसदको माग


तपाईको कमेन्ट लेख्नुहोस्