Techie IT
शुक्रबार, माघ १७,२०८२

बालेनको चुनावी कार्यक्रममा लुटेरा गिरोह सक्रिय : ६ जनाको सिक्री चोरी, एक पक्राउ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सहभागी चुनावी कार्यक्रममा ६ जनाको सुनको सिक्री लुटपाट भएको खुलेको छ ।

अछाम र कञ्चनपुरमा साह सहभागी कार्यक्रममा भीडको फाइदा उठाउँदै लुटेरा गिरोह सक्रिय भएको हो । साथै, सिक्री चोरीको आरोपमा एक जना पक्राउ परेका छन् ।

कञ्चनपुरको झलारीमा बुधबार बालेनलाई हेर्न जम्मा भएको भीडमा धनगढी–२ का मनोज चौधरी र धनगढी–३ का सञ्जीव मल्लको सिक्री चोरी भएको हो ।

घटनापछि सीसीटीभी फुटेजका आधारमा प्रहरीले खोजी थालेको थियो ।

यसैबीच, बिहीबार अछामको साँफेबगर नगरपालिका–४ मा आयोजित बालेनको कार्यक्रममा सिक्री चोरी गरेको आरोपमा पर्साको पकाहा मैनपुर–५ का ३१ वर्षीय उमेश राय पक्राउ परेका छन् । प्रहरीले रायसहितको समूहले बालेन सहभागी कार्यक्रममा आएका चार जनाको सिक्री चोरी गरेको र पाँचौँ महिलाको सिक्री चोर्ने क्रममा उनी पक्राउ परेको जनाएको छ ।

अछाममा मात्रै ६ तोलाभन्दा बढी सुन चोरी भएको र पक्राउ परेका व्यक्तिबाट एउटा सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

अछामका प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ परेका व्यक्ति पेशेवर चोर रहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनको चुनावी कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्