एमाले-प्रलोपा बीच पश्चिम नेपालका विभिन्न निर्वाचन क्षेत्रमा तालमेल , के पर्ला प्रभाव ?
काठमाडौं । नेकपा (एमाले) र नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच पश्चिम नेपालका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेको तीनबुँदे सहमतिअनुसार रुकुम पश्चिम र रुकुम पूर्वमा एमालेले प्रलोपाका उम्मेदवारलाई समर्थन गर्नेछ। यस तालमेलले नवगठित प्रलोपालाई कति लाभ पुग्ला भन्ने प्रश्न अहिले चर्चाको केन्द्रमा छ।
रुकुम पश्चिम र पूर्वमा प्रलोपालाई एमालेको साथ
रुकुम पश्चिममा प्रलोपाबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मा उम्मेदवार छन्। २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका शर्माले एमाले उम्मेदवार नन्दराम सापकोटाभन्दा तेब्बर बढी मत ल्याएर विजयी भएका थिए। शर्माले ३९ हजार ५४९ मत पाउँदा सापकोटाले १२ हजार ९६१ मत पाएका थिए।
तर त्यसयता राजनीतिक समीकरण फेरिएको छ। शर्मा अहिले माओवादी केन्द्रमा छैनन्। अघिल्लो निर्वाचनमा उनलाई नेपाली कांग्रेस (८ हजार ७६६ मत) र नेकपा (एकीकृत समाजवादी) (१ हजार ५१० मत) लगायतको समर्थन थियो। अबको निर्वाचनमा भने समानुपातिकतर्फ ८ हजार ७६९ मत पाएको एमालेको समर्थन उनलाई प्राप्त हुने भएको छ।
त्यस्तै, रुकुम पूर्वमा प्रलोपाका सन्दीप पुनले एमालेको साथ पाउनेछन्। अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले रुकुम पूर्वमा ३ हजार ६५९ मत पाएको थियो।
एमालेका लागि कति लाभदायक ?
सहमतिअनुसार कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्ला तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेलाई सहयोग गर्नेछ। प्रलोपाले साथ दिने भनिएका निर्वाचन क्षेत्रहरूमध्ये अघिल्लो निर्वाचनमा प्युठानमा मात्र एमाले विजयी भएको थियो। सल्यान बाहेक अन्य सबै क्षेत्रमा एमाले दोस्रो स्थानमा सीमित भएको थियो।
तीमध्ये दैलेख–२, दाङ–२ र दैलेख–१ मा एमाले झिनो मतान्तरले पराजित भएको थियो। दैलेख–२ मा कांग्रेसका दिक्पालबहादुर शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई मात्र १६७ मतले हराएका थिए। दाङ–२ मा माओवादी केन्द्रकी रेखा शर्माले एमालेका शंकर पोखरेललाई १९३ मतले पराजित गरेकी थिइन्।
दैलेख–१ मा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत पाएका थिए।
झिनो मतान्तर भएका क्षेत्रमा निर्णायक हुन सक्ने तालमेल
दैलेख–२ मा कांग्रेसका दिक्पालबहादुर शाहीले २० हजार १८३ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत पाएका थिए। समानुपातिकतर्फ यस क्षेत्रमा एमालेले १७ हजार ३१७ र कांग्रेसले १५ हजार ५०४ मत पाएका थिए।
प्रलोपाको आफ्नै मताधार कति छ भन्ने स्पष्ट तथ्यांक नभए पनि, अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएका क्षेत्रमा यो तालमेल एमालेका लागि लाभदायक हुन सक्ने देखिन्छ।
विशेषगरी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको समर्थन पाउँदा पनि कम मतान्तरले जितेका कम्युनिस्ट उम्मेदवारहरूका लागि एमाले–प्रलोपा तालमेल चुनौतीपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ।
उदाहरणका लागि, दाङ–२ मा माओवादी केन्द्रकी रेखा शर्माले २६ हजार ८८० मत ल्याउँदा एमालेका शंकर पोखरेलले २६ हजार ६८७ मत पाएका थिए। जबकि समानुपातिकतर्फ यस क्षेत्रमा एमालेले २३ हजार ५६८, माओवादी केन्द्रले १० हजार ८२० र एकीकृत समाजवादीले ७८२ मत पाएका थिए।
दैलेख–१ मा पनि एकीकृत समाजवादीका उम्मेदवारले एमाले उम्मेदवारलाई ८५२ मतले पराजित गरेका थिए। यस क्षेत्रमा समानुपातिकतर्फ एमालेको १६ हजार ३१३, एकीकृत समाजवादीको ३ हजार १६६ र माओवादी केन्द्रको २ हजार ६४५ मत थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले-प्रलोपा बीच पश्चिम नेपालका विभिन्न निर्वाचन क्षेत्रमा तालमेल, #के पर्ला प्रभाव ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्