Techie IT
सोमबार, माघ १३,२०८२

राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाद्वारा २४ बुँदे घोषणापत्र सार्वजनिक


संखुवासभा । राष्ट्रिय परिवर्तन पार्टी संखुवासभाका उम्मेदवार घनश्याम वालिङ राईले २४ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । खाँदबारीमा आइतबार आयोजित कार्यक्रममा उहाँले उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीका साझा उम्मेदवारका रूपमा आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई चुनाव चिन्ह बासुरीमा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नु हुँदै उम्मेदवार राईले आफ्नो राजनीति आश्वासन र भाषणको मात्र नभई सेवामुखी र जवाफदेही राजनीति भएको स्पष्ट पार्नुभयो । “आश्वासन बाँड्ने होइन, कामको रिपोर्ट लिएर बारम्बार जनतामाझ आउने प्रतिनिधि बन्छु,” उहाँले भन्नुभयो ।

घोषणापत्रमा घरघरमा उत्पादन र उद्यम विकास, पारदर्शी तथा इमानदार शासन प्रणाली, पानीका मुहान संरक्षण, विपद् व्यवस्थापन, युवा तथा खेलकुद विकास, स्थानीय रोजगारी सिर्जना, कृषि र पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षा जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

राईले स्थानीय आम्दानी बढाउने उद्देश्यले घरघरमा रुद्राक्ष, अलैंची, अदुवा, बेसार, तरकारी खेती, मौरीपालन, जडीबुटी तथा फलफूल खेतीलाई प्रवर्द्धन गर्ने योजना अघि सार्नुभएको छ । साथै, कमिसन र सेटिङको राजनीतिविरुद्ध कडा कदम चाल्दै जनताकै बीचमा बसेर जवाफदेही प्रतिनिधि बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हाइड्रोपावर विकासका सन्दर्भमा उहाँले “विकास आवश्यक छ, तर पहिरो र विस्थापनको मूल्यमा होइन” भन्दै भू सुरक्षा सुनिश्चित नगरी जोखिमपूर्ण आयोजना अघि नबढाइने स्पष्ट पार्नुभयो । पहिल्यै प्रभावित नागरिकलाई न्यायोचित क्षतिपूर्ति र सुरक्षित पुनर्वासको व्यवस्था गरिने उहाँको भनाइ छ ।

घोषणापत्रमा किमाथाङ्का नाकालाई व्यवस्थित गर्दै व्यापार र रोजगारीका अवसर विस्तार गर्ने, मकालु हिमाल, सभापोखरी, अरुण उपत्यका तथा मकालु–बरुण राष्ट्रिय निकुञ्जको प्रवर्द्धन गरी बाह्रै महिना पर्यटन भित्र्याउने योजना पनि समेटिएको छ ।
युवालाई कुलतबाट जोगाउने अभियान, नियमित स्वास्थ्य शिविर सञ्चालन, विपद् जोखिम न्यूनीकरण, सरकारी सेवा घरदैलोमै पुर्‍याउने व्यवस्था तथा विकास आयोजनाको सार्वजनिक अनुगमन र रिपोर्टिङ गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

उम्मेदवार राईले आफूलाई भोट मागेर हराउने होइन, सधैँ जनतामाझ रहने जनप्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #घोषणा पत्र, #निर्वाचन, #राष्ट्रिय परिवर्तन पार्टी संखुवासभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्