Techie IT
मंगलबार, माघ ७,२०८२

काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा


काठमाडौं । प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ६ मा राजनीतिक दलहरूले उम्मेदवार टुंग्याउने क्रम तीव्र बनेको छ। हालसम्म नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाइसकेका छन्।

नेपाली कांग्रेसमा आन्तरिक विवादका कारण उम्मेदवार चयन ढिलाइ भएको जनाइएको छ। कांग्रेस सभापति गगन थापाले आज साँझसम्म उम्मेदवार टुंग्याइने जानकारी दिएका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीभित्र समाजवादी पक्षको बार्गेनिङका कारण आज दिउँसोसम्म उम्मेदवारको टुंगो लाग्ने बताइएको छ।

काठमाडौं क्षेत्र नं. ६ मा नेकपा एमालेबाट ई. अमनकुमार मास्के उम्मेदवार बनेका छन्। जेन्जी र युवा पुस्तामाझ तथा स्थानीयस्तरमा लोकप्रिय मास्के बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रहँदा तारकेश्वर र टोखालगायत काठमाडौं महानगर क्षेत्रमा उल्लेख्य विकास बजेट ल्याउन सफल भएका थिए। गत प्रदेशसभा निर्वाचनमा कांग्रेसका विष्णुभक्त तिमिल्सिनालाई फराकिलो मतान्तरले पराजित गरेका मास्के कुशल प्रशासक, बौद्धिक व्यक्तित्व र विकासका विज्ञका रूपमा चिनिन्छन्। बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीका रूपमा रहँदा उनले प्रभावकारी र लोकप्रिय काम गरेको एमाले नेताहरूको भनाइ छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पूर्व शिक्षा मन्त्री शिशिर खनालले टिकट पाइसकेका छन्। २०७९ सालको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका खनाल यस क्षेत्रका बलिया उम्मेदवारका रूपमा हेरिएका छन्। शिक्षा मन्त्री र सांसदका रूपमा रहँदा स्थानीय समस्यासँग निरन्तर जोडिएर पैरवी गर्दै आएका खनालले अधुरा योजना पूरा गर्न पुनः सांसद बन्ने तयारीमा रहेको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले युवा नेता उद्धवराज भेटवाललाई उम्मेदवार बनाएको छ। साङ्ला निवासी भेटवाल पत्रकारिता क्षेत्रबाट उदाएका नेता हुन्। स्पष्ट वक्ता भेटवाल पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै आएका छन्। उनले कांग्रेस–एमाले र माओवादी बाहेक नयाँ शक्तिको आवश्यकता रहेको भन्दै यसपटकको चुनावमा राप्रपाको सम्भावना बलियो रहेको बताएका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (विप्लव) माओवादीले तारकेश्वर–१ का स्थानीयबासी चिरञ्जीवी ढकाललाई सर्वसम्मत उम्मेदवार बनाएको छ। ढकाल ग्रामिण आदर्श बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति हुन्। विद्यार्थी राजनीतिबाट उदाएका उनी हाल विप्लव माओवादीका केन्द्रीय नेता तथा अधिवक्ता हुन्। काँठक्षेत्रमा जन्मिएर पहिलोपटक काँठबाट संघीय सांसदको उम्मेदवार बनेका ढकाललाई पनि बलिया उम्मेदवारका रूपमा हेरिएको छ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले भने हालसम्म उम्मेदवार टुंग्याउन सकेका छैनन्। नेकपाबाट युवा नेता हिमाल शर्माको सम्भावना देखिएको छ भने नेपाली कांग्रेसबाट गगन थापा पक्षका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको उम्मेदवारी बलियो रहेको कांग्रेसका नेता तथा कार्यकर्ताहरू बताउँछन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा


तपाईको कमेन्ट लेख्नुहोस्