Techie IT
आईतबार, कात्तिक १६,२०८३

काँग्रेस संस्थापनको दाबीः पार्टी विधानले अधिवेशन तथा महाधिवेशन गर्ने अधिकार केन्द्रिय समितिलाई मात्र दिएको छ


नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रिय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहोर्याएका हुन् ।

उनले पार्टी विधानअनुसार पार्टीका कुनैपनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पारे। उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भएपनि ‘केन्द्र’ भन्नाले केन्द्रिय कार्यसमिति र केन्द्रिय कार्यालयलाई जनाउने उल्लेख गरे ।

उनले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भएपनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गरे । उनले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि प्रक्रिया अगाडि बढाइएको भएपनि तत्कालीन महामन्त्रीद्वयले अत्यसअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेसको विधानले कुनैपनि प्रकृतिको अधिवेशन, महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ । पार्टीको केन्द्रिय समितिबाहेक कुनैपनि पदाधिकारीलाई नेपाली काँग्रेसको कुनैपनि अधिवेशन वा महाधिवेशन गर्ने अधिकार नेपाली काँग्रेसले दिएको छैन । त्यो कुरा हाम्रो पार्टीको विधानका विभिन्न धारा र नियमावलीमा प्रष्ट छ । त्यसैले विधानको विपरित भएको छ । पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिनिले हस्ताक्षर गरी विषय खोलेर माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्ने व्यवस्था छ । विधानअनुसार केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय हो । यसको अर्थ के हो केन्द्रीय कार्यसमितिको निर्णयले मात्र विशेष महाधिवेशन गर्न पाइन्छ ।’

उनले गत मंसिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी बैशाखमा गर्ने निर्णय गरिएको बताए । उनले गत पुस १५ गते बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर समेत गरे ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस संस्थापनको दाबीः


तपाईको कमेन्ट लेख्नुहोस्