पहिले र अहिलेको यःमरी
काठमाडौं । मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि–आधारित जीवनशैली, धार्मिक आस्था र सामूदायिक एकतासँग जोडिएको अद्वितीय पर्व हो । धान भित्रने, कृषकको मेहनतको प्रतिफल प्राप्त हुने र परिवार तथा समुदाय एकै ठाउँमा भेला भएर समृद्धिको कामना गर्ने यो पर्व शताब्दीयौँ पुरानो इतिहास बोकेर आज पनि उतिकै उत्साहका साथ मनाइँदै आएको छ ।
यस दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ, किनकी यसै पूर्णिमाबाट परम्परागत रूपमा धान काट्ने, भित्र्याउने र नयाँ चामल सेवन गर्ने विधि सुरू हुन्छ । काठमाडौं उपत्यकामा बिहानैदेखि घरघरमा नयाँ धानको चामल कुट्ने, पिठो बनाउने र त्यसैबाट यःमरी बनाउने चहलपहल देखिन्छ । सुगन्धित चामल, तातो बाफ र चाकुको मीठास मिसिएको यःमरीको गन्धले धेरैलाई आकर्षित गर्छ । नेवार समुदायमा यःमरी स्वाद मात्र होइन, शुभता, समृद्धि र देवप्रतिको आस्थासँग जोडिएको सांस्कृतिक प्रतीक हो । चामलको पिठो गोलो आकारमा बनाइन्छ, भित्र चाकु, तिल, दूधको खुवा वा अहिलेका केही घरहरूमा आधुनिक स्वादका लागि घिउ–काजु, मखाना आदि समेत प्रयोग गर्न थालिएको छ । तर परम्परागत स्वादकै यःमरी अझै सबैको प्रमुख रोजाइमा छ ।

यःमरीको टुप्पो लामो बनाउने चलन यसको सबैभन्दा विशिष्ट विशेषताहरू मध्ये एक हो । यःमरीको चुचो जति लामो, आयु पनि त्यति नै दीर्घ र शुभ हुन्छ भन्ने जन विश्वास पनि छ । त्यसैले घरका दिदी–बहिनीहरू, बाजेबज्यैदेखि लिएर सानातिनाहरू समेत यःमरिको टुप्पो अझै लामो र सुन्दर बनाउने प्रयासमा रमाइरहेका हुन्छन् ।
उमेरले ८० टेकेकी काठमाडौंकी अम्बिका महर्जन सिंहलाई आज पनि यमरी बनाउन खुबै जाँगर चल्छ । बाबुबाजेको पालादेखिनै यमरी बनाउने र परिवारका सबै सदस्यहरु बसेर सामूहिक रुपमा खाने परम्परा आजपनि जीवित राखेको उनी सुनाउँछिन् ।

यःमरी बनाउने विधि र प्रक्रियामा फरकपन आएकोमा उनलाई आश्चर्य चकित पनि लागेको छ । उनका अनुसार, पहिले–पहिले यःमरी बनाउन पिठोलाई भित्र खाली राख्न हुँदैन भन्ने कडा मान्यता थियो । त्यसैले कम्तीमा पाँचवटा चामलका दाना राखेर नै पकाइन्थ्यो । महिनौं मिहिनेत गरेर उब्जाइएको धानले परिवारलाई समृद्धि प्रदान गरोस् भन्ने कामनाका लागि राखिने पाँच दानालाई शुभको प्रतीकका रूपमा लिइन्थ्यो । आधुनिक समयमा चाकु, खुवा, तिल राखेर बनाइने यमरी जनप्रिय बन्दै गएको छ । चाकुको सुगन्ध र खुवाको मिठासले यसलाई नेवार समुदाय मात्र होइन, अन्य जातजातिका मानिसका लागि पनि मनपर्ने परिकार बनाइदिएको छ । धेरैले यःमरी पुन्हिको अवसरमा घरमै बनाउँछन् भने होटल–रेष्टुरेन्टमा पनि विशेष परिकारका रूपमा यसको माग बढेको छ ।
यसको अर्को विशेष सामाजिक पक्ष भनेको बालबालिकालाई यःमरी लगाइदिने परम्परा पनि छ । नेवार परिवारमा बच्चा दुई वर्ष र चार वर्ष पुग्दा, तथा कतिपय घर–घरमा १२ वर्ष पुग्दा, बच्चाको स्वास्थ्य, दीर्घायु र सुखसमृद्धिका लागि विशेष यःमरी पकाइदिन्छन् र त्यसको माला बनाएर बच्चाहरुलाई लगाइदिने गरिन्छ ।
धान भित्र्याउने परम्परासँग जोडिएको अर्को चलन भनेको यःमरीलाई धान राख्ने ठाउँमा चढाउने हो । पहिले भकारीमा चढाइन्थ्यो, अहिले भकारी नभए पनि धान राख्ने कोठा वा भण्डारण भाँडामा राखिन्छ । यमरी पूर्णिमाको दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, नेवार संगीत, नाचगान र समुदायिक भोज–भतेर पनि हुन्छ ।
‘यःमरी महोत्सव’ वा ‘यःमरी मेला’ आयोजना गर्ने चलन बढ्दो छ । यसले नयाँ पुस्तालाई परम्परा सिकाउने मात्र होइन, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि योगदान दिएको छ । तर परम्परागत मान्यताले केही सीमा पनि तोकेको छ । यःमरीमा मासु राखेर पकाउनु अशुभ मानिन्छ । अम्बिका महर्जन सिंहका अनुसार, ‘हामीले आजसम्म मासु राखेर पकाएको छैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पहिले र अहिलेको यःमरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति







तपाईको कमेन्ट लेख्नुहोस्