Techie IT
बिहीबार, जेठ ९,२०८२

‘मोडिफाइड बाइक’ मा चितवन प्रहरी आक्रमक : ४३ मोटरसाइकल नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय चितवनले स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका मोटरसाइकललाई कडाइ गरेको छ । स्थानीयको जनगुनासो आएसँगै जिल्ला प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने र लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको विभिन्न स्थानबाट मोडिफाइड गरी चलाइएका ४३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोबिन्द पुरीले जानकारी दिनुभयो ।

हिजो बुधबार देखी  विशेष अभियान नै सञ्चालन गरेर जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहत प्रहरी कार्यालय समेतले ठुलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीलाई नियन्त्रण लिइएको उनले बताए ।

स्वरूप परिवर्तन (मोडिफाइड) गरी होहल्ला मच्चाई ध्वनि प्रदूषण गर्ने, हेन्डिल परीवर्तन गर्ने, साइलेन्सर पाइप परिवर्तन गर्ने, समाजमा शान्तिसुरक्षा खल्ल बनाउने जस्ता कार्य गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई यातायात ब्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको हो ।

नियन्त्रणमा ल्याइएका सबै मोटरसाइकललाई वास्तविक स्वरूपमा ल्याउन लगाइ कानुनी तथा ट्राफिक नियम सचेतना सम्बन्धि कक्षा दिइएको जिल्ला र्ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा चेकजाँचमा कडाइ गरिएको छ ।

सवारी चेकजाँचको क्रममा ब्लुबुक नवीकरणको म्याद नाघेका विभिन्न सवारी साधनहरूलाई नियन्त्रणमा लिई नवीकरणका लागि कानुनी दायरामा ल्याइएको चितवन प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्राफिक नियम पालना गर्ने कार्यलाई प्रोत्साहित गर्न स्थानीय विद्यालयहरू, नेपाल स्काउटसँग समन्वय गरी सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतनामूलक कार्यक्रम गर्नुका साथै ट्राफिक प्रहरीसँगको संयुक्त सवारी चेकजाँच कार्यलाई तीव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए ।

पछिल्लो समय स्वरूप परिवर्तन र तीव्र गतिमा चलाइने मोटरसाइकलको कडाइसँगै अन्य सवारी चेकजाँचलाई तीव्रता दिएको हुँदा मापसे गरी सवारीसाधन चलाउनेहरूमा कमी आएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

केही समय सुस्त रहेको उक्त अभियान बुधबारदेखी सञ्चालन गर्दा स्वरुप परिवर्तन गरेका मोटरसाइकल नियन्त्रणमा लिइए संगै प्रहरीको यो अभियान सधैं हुनुपर्ने स्थानीय बताउँछन् ।

के हुन्छ कारबाही

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम स्वरुप परिवर्तन गर्ने मोटरसाइकललाई पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।

कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोध गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Thunder
5:09 am6:51 pm +0545