काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
काठमाडौँ, साउन २४ गते । सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको बताउनुभयो ।
मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल–ओमान सम्बन्धका सबै पक्षमा छलफल भएको थियो । बैठकमा दुवै पक्षले सन् १९७७ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी सहकार्य र साझेदारी हुँदै आएको चर्चा गर्दै उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम, वैदेशिक रोजगारी, संस्कृति, शिक्षा, सिधा हवाई सम्पर्कलगायत सबै क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन् ।
बैठकमा दुवै पक्षले जनस्तरको सम्बन्ध अभिवृद्धि तथा पारस्परिक लाभका खातिर आर्थिक लाभका अवसरहरूको उपयोग गर्ने सम्बन्धमा पनि सहमति जनाएका छन् ।
परराष्ट्र सचिव लम्सालले नेपालीलाई रोजगारीका अवसर प्रदान गरेकामा ओमान सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै ओमानका नरेशको ‘२०४० दृष्टिकोण र रणनीति’का सन्दर्भमा थप अवसरहरूको खोजीका निम्ति आग्रह गर्नुभयो । उहाँले आपसी सहकार्यका नयाँ क्षेत्रहरू पहिचान गर्दै निजी क्षेत्रसँग मिलेर आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा अर्थपूर्ण साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा लगानीका पर्याप्त क्षेत्र रहेका बताउँदै पराष्ट्र सचिवले जलविद्युत्, पर्यटन, हरित हाइड्रोजनलगायत क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।
ओमानी प्रतिनिधिमण्डलका नेता शेख खलिफा बिन अलि बिन इसा अलहार्थीले सहमति गरिएका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तथा सझदारी गर्न बाँकी विषयलाई टुङ्ग्याउन ओमान सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले नेपालीहरूको परिश्रम र इमान्दारीको प्रशंसा गर्नुभयो ।
दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकमा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै दुवै पक्षले बहुपक्षीय क्षेत्रमा सहकार्य एवं साझेदारीलाई अझ घनिभूत तुल्याउन दृढता पनि व्यक्त गरेका छन् ।
परराष्ट्र सचिव लम्सालले बुधबार नै ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउनेबारेमा छलफल भएको थियो ।
सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा आयोजना गरिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्