आयोजना अलपत्र हुँदा एक हजार दुई सय घरधुरी खानेपानीबाट वञ्चित
गोलबजार (सिरहा), साउन १५ गते । सिरहाको कल्याणपुर नगरपालिका-१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित वि.सं.२०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो ।
पाँच वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले छ करोड ५० लाखमा आयोजना बनाउन सुरु गरेको थियो । कार्यालयले हालसम्म दुई करोडमा दुई बोर्डिङ गाडेर ट्याङ्की बनाएर बाँकी काम अलपत्र छाडेको छ । समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने पनि नभएको स्थानीयको गुनासो छ ।
“डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसकेँ”, उपभोक्ता समितिका अध्यक्ष ठाकुरले भन्नुभयो । साबिकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराज डिभिजन कार्यालयअन्तर्गत समावेश भइसकेको छ । आर्थिक वर्ष २०७९/८० असार मसान्तमा डिभिजन कार्यालय राजविराजले १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ ।
त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०-८१ म छुट्याएको १७ लाख डिभिजनले कामै नगरी ‘फ्रिज’ भएर गएको बताइएको छ । कल्याणपुर-१२ का वडाध्यक्ष दिलीपकुमार यादवले भने वडावासीलाई स्वच्छ खानेपानी खुवाउन निरन्तर योजनाबारे सोधीखोजी गरिरहेको बताउनुभयो । “डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ”, अध्यक्ष ठाकुर भन्नुहुन्छ, “यसरी यो आयोजनाले कहिले पूर्णता पाउँदैन ।”
सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन् । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आयोजना अलपत्र हुँदा एक हजार दुई सय घरधुरी खानेपानीबाट वञ्चित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्