सुनको भाउ बढाउने यी हुन् ५ कारण

अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको भाउ मुख्यतः ५ कारणले बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका विभिन्न रिपोर्टले देखाउँछ । पहिलो, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, दोस्रो, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, तेस्रो, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनु, चौथो, भूराजनीतिक द्वन्द्व र पाँचौ, आर्थिक गतिविधिमा सुस्तता देखिनु ।
सुनको भाउलाई यी विषयले असर पारेकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरू पनि सहमत छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न कमोडिटी बजार अनुसन्धान अधिकृतहरूको भनाइ उद्धृत गर्दै मूल्य अझै बढ्ने प्रक्षेपण गरिरहेका छन् ।
गोल्डम्यान साक्स रिसर्च धातु प्रमुख निकोलस स्नोडन र विश्लेषक ल्याभिनिया फोर्सेलीले अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदरबारे अनिश्चितता देखाएकाले पनि मूल्यमा असर परिरहको रिपोर्टमा औंल्याएका छन् ।
फेडले मार्चमा ब्याज घटाउने अनुमान रहे पनि घटाएन, अहिले जुन महिनामा घटाउने अनुमान गरिन थालेको छ । ब्याजदर घट्दा सुनको भाउ बढ्ने आशले गर्दा अहिले ठूला लगानीकर्ताले पनि सुनको माग बढाइरहेका छन् । ‘कमोडिटी र स्टक मार्केटलाई पूर्वानुमानले धेरै असर पार्छ, ब्याजदर घट्छ र मूल्य अझै बढ्छ भन्ने भावना विकास भएको छ, जसले माग पक्ष बलियो बनिरह्यो भने आपूर्ति कमजोर बन्यो’ रिपोर्टमा उल्लेख छ ।
अर्कोतर्फ विश्वका केन्द्रीय बैंकहरूले विगत दुई वर्षमा अत्यधिक सुन खरिद गरे र उदीयमान बजारहरूमा बलियो खुद्रा मागले मूल्य बढेको उनीहरू बताउँछन् । ‘विगतका दुई वर्ष केन्द्रीय बैंकहरूको खरिद बलियो देखियो, अर्कातिर भूराजनीतिक तनाव पनि बढिरह्यो, जसले मूल्यमा दबाब परिरहेको छ,’ रिपोर्टमा छ । केन्द्रीय बैंकहरुले भण्डारणका लागि खरिद गरेको सुनले नियमित आपूर्तिमा अवरोध गर्दछ ।
कोभिड महामारी तथा रुस–युक्रेन युद्धपछि चीन, भारत, अमेरिका लगायत देशले सुन भण्डारण बढाए । विश्वका केन्द्रीय बैंकहरूले सन् २०२२ देखि २०२३ सम्म दुई वर्षमै औसत १ हजार ६० टन सुन किनेको तथ्यांक छ । जबकि २०१६ देखि २०१९ बीच तीन वर्षमा जम्मा ५ सय ९ टन किनेका थिए ।
‘चीनले अमेरिकी डलर सञ्चिति हटाउँदै सुन भण्डारण बढाउने र पोल्यान्डजस्ता देशले पनि भण्डारण बढाएपछि यो वृद्धि भएको हो,’ रिपोर्टमा उल्लेख छ । पछिल्लो समय चीनले अमेरिकी डलरलाई महत्व दिन छाडेको छ भने सुनलाई बढी महत्व दिँदै भण्डारण बढाएको छ । चीनले अन्य मुलुकसँग अमेरिकी डलरको सट्टा अन्य मुद्रामै कारोबार गर्न थालेको छ ।
भूराजनीतिक जोखिम, घरेलु मुद्रास्फीति र अमेरिकी डलरको कमजोरीका कारण रिजर्भ पोर्टफोलियो विविधीकरण गर्ने प्रयासमा विश्वका केन्द्रीय बैंकहरूबाट बलियो खरिद माग रहँदा सुनको भाउ बढेको विश्व सुन परिषद् बजार रणनीतिकार जोसेफ काभाटोनीले सीएनबीसीलाई बताएका छन् ।
रिपोर्ट अनुसार सुनमा लगानीको माग अझै बढ्न सक्ने छ । रुस–युक्रेन द्वन्द्व र अमेरिकामा सिलिकन भ्याली बैंक संकटजस्ता प्रमुख अवरोधले सुन खरिद र भण्डारणमा उत्प्रेरित गरेको रिपोर्टमा उल्लेख छ । लगानी व्यवस्थापन कम्पनी गेबेली फन्डका पोर्टफोलियो प्रबन्धक सिजर ब्रायनले चीनमा घरजग्गा क्षेत्रको मन्दी र त्यहाँको स्टक मार्केटले विगत १ वर्षदेखि राम्रो प्रदर्शन नगर्दा पनि ठूला लगानीकर्ता सुनतर्फ मोडिएको बताएका छन् ।
त्यस्तै विभिन्न मुलुकको आर्थिक गतिविधिमा सुस्तता देखिएको र यसले गर्दा निजी क्षेत्रको लगानी विविधीकरण हुन नसकेको जनाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य समय क्रममा नै विश्व जटिलताहरू आइरहँदा मूल्य बढिरहेको र एकपछि अर्को रेकर्ड बनिरहेको बताउँछन् ।
‘सुरुमा कोभिड महामारी देखियो र मूल्य बढ्दै गयो, त्यसपछिको रुस–युक्रेन युद्ध, हमास–इजरायलको युद्धले मूल्य बढाइरह्यो,’ उनले भने, ‘अहिले ती युद्ध जारी नै छन्, तीबाहेक अमेरिका र चीनको भूराजनीतिक सम्बन्धले पनि असर परेको छ ।’
युद्ध बढ्दा, भूराजनीतिक तनाव बढ्दा विश्वका केन्द्रीय बैंक र ठूला लगानीकर्ताले समेत सुनमा लगानी बढाउने गरेको शाक्य बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुनको भाउ बढाउने यी हुन् ५ कारण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्