डेंगुविरुद्ध साधारण कार्य पनि गर्न नसक्दा संक्रमण उच्च
डेंगुविरुद्ध साधारण कार्य पनि गर्न नसक्दा संक्रमण उच्च भएको हो।
डेंगुको संक्रमण देशव्यापी रूपमै फैलिएको छ। संक्रमणले दिनहुँ सयौं व्यक्तिलाई प्रभावित गरिरहेको छ। सर्वसाधारणको जीउज्यान जोखिममा छ। पछिल्लो आठ महिनाको अवधिमा २० जना डेंगु संक्रमितको ज्यान गइसकेको छ।
अहिलेसम्म मुलुकका ७६ जिल्लामा संक्रमण फैलिइसकेको छ। ती जिल्लाका ३८ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। संक्रमण कायमै भए पनि जोगिने उपाय प्रभावकारी रूपमा अपनाउन नसकेको अवस्था छ। प्रदेशगत हिसाबले सबैभन्दा बढी कोसी प्रदेशमा संक्रमण उच्च देखिएको छ। जिल्लागत रूपमा सुनसरी जिल्लामा संक्रमितहरू पाइएका छन्। अन्य जिल्लाहरूमा पनि संक्रमणदर बढ्दो छ।
हरेक तीनदेखि पाँच वर्षको फरकमा नेपालमा डेंगु रोगको संक्रमण बढ्ने गरेको छ। विगतमा तराईका जिल्लामा डेंगु रोगले सताउँथ्यो। अहिले लामखुट्टेको पहाड र हिमाली क्षेत्रमा प्रवेश भएसँगै संक्रमण पहाड र हिमाली क्षेत्रमा पनि व्यापक हुँदै गएको छ। अहिले संक्रमणको अवस्था हेर्दा कोलम्बियाको जस्तो अवस्था देखिन्छ। कोलम्बियामा पनि नियन्त्रणमा हेलचेक्र्याइँ गर्दा महामारीकै रूपमा फैलने गरेको छ। नेपालले पनि कोलम्बियाको बाटो पछ्याइरहेको छ।
डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ। एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। त्यसैले लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाउनुपर्छ। ती ठाउँहरूलाई नष्ट गर्नुपर्छ। एक अध्ययनअनुसार ६० प्रतिशत डेंगु वृद्धि हुनुको कारण टायरभित्र संकलिन जमेको पानीलाई लिइएको छ। विशेषगरी हिरी क्षेत्रमा टायरलाई चाङ लगाएर राख्ने गरिएको छ। लामखुट्टेलाई फुल पार्ने र लार्भा हुर्कनको लागि टायर उपयुक्त वातावरण बनेको छ। त्यसैले घर वरिवरि टायर, गमला, ड्रम, बाल्टिन वा अन्य कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन। यी बाहेक लामखुट्टेको टोकाइबाट जोगिने उपायहरू छन्। ती उपायहरू अपनाउनु पर्छ। जस्तो सधैं झुल टाँगेर सुत्ने बानी बसाल्नु पर्छ। खेतबारीमा काम गर्न जाँदा लामो बाहुला भएको लुगा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ। घरको झ्यालढोकामा जाली हाल्नु पर्छ। सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मल्हमको पनि प्रयोग गर्न सकिन्छ।
डेंगुको संक्रमण हुँदा उच्च ज्वरो आउँछ। टाउको दुख्ने, जीउ कटकट खाने किसिमको हुन्छ। विशेषगरी जोर्नी, मांसपेशी बेस्सरी दुख्छ। शरीरमा राता बिमिराहरू देखा पर्न सक्छ। त्यस्तै वाकवाकी लाग्ने र बान्ता हुनेलगायतका लक्षणहरू देखा पर्छन्। डेंगुको लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउँदा अल्पायुमा ज्यान जान पाउँदैन।
डेंगुविरुद्ध साधारण कार्य पनि गर्न नसक्दा संक्रमण उच्च भएको हो। डेंगु रोगविरुद्ध जनचेतना फैलाउनेदेखि लामखुट्टेको लार्भा नष्ट गर्नेतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनु जरुरी छ। तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनु जरुरी छ। डेंगु नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकार चुकेको देखिन्छ। डेंगुको संक्रमण नियन्त्रणका लागि प्रदेश र स्थानीय तहबाट प्रभावकारी अभियान सञ्चालन हुन नसकेका कारण नै संक्रमण बढेको हो। जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा १६ मा रोगको संक्रमण नहुने र रोक्नेतर्फ अत्यावश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने उल्लेख छ।
डेंगुको रोकथाम, उपचार तथा नियन्त्रण गर्नेतर्फ राज्य सक्रिय हुनुपर्छ। स्वास्थ्यसम्बन्धी हकको संरक्षण गर्नु राज्यको दायित्व पनि हो। डेंगुको नियन्त्रण र रोकथामको लागि सरसफाइ, जनचेतनालगायतका कार्यलाई अघि बढाउन संघीय र प्रदेश सरकारका साथै स्थानीय तह पनि अग्रसर हुनुपर्ने आवश्यकता छ।
– डा. मरासिनी, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक हुन्।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्