सुधारगृह नै बालबालिकालाई अपराध सिकाउने अखडा बन्दै

काठमाडौं बाल बिज्याइँकर्ताको आचरणमा सुधार गर्दै असल नागरिक बनाउने उद्देश्यले बाल सुधारगृह सञ्चालनमा आए पनि यस्ता गृह जेलजस्तै अव्यवस्थित, भद्रगोल र हिंसा सिकाउने कारखानामा परिणत बन्दै गएका छन् ।
२३ दिनको फरकमा भक्तपुर र वीरगन्जस्थित बाल सुधारगृहमा भएका उस्तै प्रकृतिका घटनाले यही दृश्य देखाएको छ ।
झडप र हिंसाका यी दुवै घटनाले नेपालका बाल सुधारगृहभित्र चरम शोषण, बालअधिकारको उल्लंघन र हिंसाको पुनर्उत्पादन भइरहेको त छैन भन्ने चिन्ता बढाएको छ ।
देशैभरिका ८ बाल सुधारगृहमा भएका पछिल्ला घटनाक्रम र त्यहाँभित्रको अवस्थाबारे संकलन गरेको विवरणले सुधारगृहभित्र अमानवीय वातावरणमा बालबालिकालाई राखेको पाइएको छ ।
भदौ ४ गते भक्तपुरस्थित सुधारगृहमा रहेका एक बालकको मृत्युपछि प्रदर्शन र झडप मात्रै भएन, २ सय २१ जना बाल बिज्याइँकर्ता सुधारगृहको ढोका फोडेर बाहिर निस्किए । धन्न समयमै प्रहरी परिचालन भयो र भागेका सबै जना नियन्त्रणमा आए । यो घटनापछि ५८ जनालाई अन्यत्र स्थानान्तरण गरियो । हाल यहाँ २ सय ५२ जना छन् ।
यस्तै प्रकृतिको घटना मंगलबार राति साढे ८ बजे वीरगन्ज–४ विर्तास्थित बाल सुधारगृहभित्र दोहोरियो । सुधारगृहमा रहेका दुई समूहबीच भएको झडपमा होल कमान्डर सुरज यादव र कमान्डर ललित भुजेल सख्त घाइते भए भने झडपमा सामेल एउटा समूहले सुधारगृह प्रमुख टीकाकृष्ण काफ्लेलाई रातभर कोठामा थुनेर राख्यो । भदौ ८ गते भक्तपुरस्थित सुधारगृहबाट सरुवा गरेर वीरगन्ज ल्याइएका १८ जना किशोर र पहिलेदेखि नै यहाँ रहेका किशोरबीच मंगलबार झडप भएको थियो ।
भक्तपुरको घटनापछि सुधारगृह प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनमा सानो उमेरका बालबालिका र १८ वर्ष माथिकालाई समूह नछुट्याई एकै ठाउँमा राखिनु नै विवादको मुख्य कारण भएको उल्लेख छ ।
किनकि घटना भएका बेला १ सय १० जनाको क्षमता भएको गृहमा २ सय ९८ जनालाई राखिएको थियो । सुधारगृहमा १ सय ३१ जना किशोरकिशोरी १ सय ६७ जना बालबालिकासँगै थिए । घटनापछि भागेर बाहिर निस्केका किशोरहरूले सुधारगृहमा खाना मीठो नभएको, पानी सफा नभएको, औषधि उपचार व्यवस्थित नभएको गुनासो गरेका थिए । सुधारगृहका एक किशोरले कान्तिपुरसँग भने, ‘हामीसँगै रहेका साथीहरूले खाना पकाउने जिम्मेवारी पाएका छन् तर खाना एकदमै नमीठो बनाउँछन् । तरकारी पनि दुई डाडु मात्रै दिन्छन् । शनिबार मासु त खुवाउँछन् तर तीन चोक्टाभन्दा दिँदैनन् ।’ बाल न्याय सम्पादन ९कार्यविधि० नियमावली, २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधारगृहमा स्वच्छ पिउने पानी, पोषणयुक्त खानेकुरालगायतका न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्