Techie IT
शुक्रबार, जेठ ३१,२०८२

त्रीरत्न आवासीय विद्यालय, स्वयम्भूमा  एक दिवसीय निःशुल्क दन्त शिविर सम्पन्न


काठमाडौं – बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै त्रीरत्न आवासीय विद्यालय,पद्म बज्र मार्ग  किम्डोल स्वयम्भूमा  एक दिवसीय निःशुल्क दन्त शिविर सम्पन्न गरिएको छ।

युनाइटेड नेचर इन्टरनेसनल पिस र बालबालिका वास्ता नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा समाज डेन्टल अस्पताल, सीतापाइलाले प्राविधिक सहयोग प्रदान गरेको थियो। शिविरमा विद्यालयका करिब ४५० जना विद्यार्थीहरू सहित शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको पनि दन्त परीक्षण गरिएको थियो।

कार्यक्रमको उद्देश्य बालबालिकाहरुलाई सानैदेखि दन्त स्वास्थ्यप्रति सचेत गराउनु, नियमित जाँचको महत्व बुझाउनु र कुनै दन्तसम्बन्धी समस्या पहिचान गरि तत्काल समाधान गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

समाज डेन्टल अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले सहभागी सबैको दाँतको जाँच गरी आवश्यक परामर्श र उपचार सिफारिस गरेका थिए। केही विद्यार्थीमा किराले लागेका दाँत, गिजाको समस्या, नियमित ब्रस नगर्ने बानी आदि देखिएको चिकित्सकहरुले जानकारी दिएका छन्। यसै क्रममा दाँत सफा गर्ने सही तरिका, खानपानमा ध्यान दिनुपर्ने कुराहरु र दैनिक जीवनशैलीमा अपनाउनु पर्ने दन्त स्वच्छताको अभ्यासबारे समेत प्रशिक्षण दिइएको थियो।

विद्यालयका प्रधानाध्यापक विद्यालयका प्रिन्सिपल भिक्षु डा. राजु लामा कोन्दनले  यस्तो खालको स्वास्थ्य शिविरले विद्यार्थी तथा शिक्षकहरूमा स्वास्थ्यप्रतिको सजगता बढाउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता शिविरको निरन्तरता आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा युनाइटेड नेचर इन्टरनेसनल पिस तथा बालबालीका वास्ता नेपालका प्रतिनिधिहरूले बालबालिकाको समग्र स्वास्थ्य र विकासका लागि विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको र विद्यालयस्तरमा पुगेर प्रत्यक्ष लाभ दिने यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको जानकारी गराए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:06 am7:01 pm +0545