Techie IT
सोमबार, चैत्र ३०,२०८२

स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले चुनाव गर्छौँ: मुख्य निर्वाचन अधिकृत निरौला


मकवानपुर । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन लागिपरेको बताउनुभएको छ ।

पत्रकार महासङ्घ अन्तरगतको फ्रि मिडिया नेटवर्कद्वारा आइतबार हेटौँडामा आयोजित कार्यक्रममा उहाँले सबैको सहयोगमा निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उहाँले निर्वाचन अधिकृतको कार्यालय, प्रहरी, प्रशासन, पत्रकार सबै मिलेर निर्वाचनलाई निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन सहयोग गर्नुपर्ने बताउनुभयो । सबैले आफ्ना क्षेत्रबाट निर्वाचन आचार संहिताको पालना गरेर निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन लाग्नुपर्ने बताउनुभयो । आचार संहिता पालना गरेरनगरेको विषयमा उजुरी पर्ने बित्तिकै सचेत गराउने गरिएको उहाँले बताउनुभयो । यो चुनावमा कतैबाट पनि दबाब महसुस नगरेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूले आचार संहिता पालना गरिरहेको र पालना गराउनका लागि लागिपरेको बताउनुभयो । चुनावका बेला पत्रकार र मिडिया पनि निष्पक्ष रुपमा काम गर्नुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले चुनावका दिनमा र मतगणना गर्ने दिनमा सकेसम्म पत्रकारहरूलाई सहज रुपमा समाचार सङ्कलन गर्ने वातावरण तयार गर्ने बताउनुभयो । सबैलाई कानून लाग्ने भएजस्तै पत्रकारलाई पनि कानून लाग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतम, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश पत्रकार महासङ्घका पूर्व अध्यक्ष प्रताप विष्ट, पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्षहरू राममणि दाहाल, भानुभक्त आचार्य, हरि हुमागाईँ, गैसस महासङ्घ बागमती प्रदेशकी अध्यक्ष आरती पाठक, गैसस महासङ्घ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 रेडियो नेपाल


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्