राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी
बागलुङ। विद्यार्थी राजनीतिबाट एकाएक उदाउनुभएका डिल्लीराम सुवेदी बागलुङ–१ ९२० बाट प्रदेशसभा सदस्य उम्मेदवार हुनुहुन्छ । ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रनुभएको हो । सत्ता गठबन्धनका साझा उम्मेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय हुनुहुन्थ्यो । नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आउनुभएका उहाँ नेपाली कांग्रेसका कान्छा उम्मेदवारमध्येमा पर्नुहुन्छ ।
काठमाडौँस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसक्नुभएका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आउनुभएको छ ।
बागलुङ नगरपालिका–१४ मा जन्मनुभएका उहाँलाई सो निर्वाचन क्षेत्रका ४६ हजार ८६ मतदातामध्ये कतिले पत्याउने हुन् त्यसका लागि त मङ्सिर ४ नै कुनुपर्छ । बरु रोचक पक्ष त के छ भने हिजोका राजनीतिक सहयोद्धा नै यो चुनावमा सुवेदीका मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।
कांग्रेस त्यागेर नेकपा ९एमाले०बाट उम्मेदवार बन्नुभएका नवराज पौडेलले सुवेदीलाई चुनौती दिनुभएको छ । सुवेदी र पौडेल सँगसँगै गत वर्ष कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी बनेका थिए । पौडेल कांग्रेसका निवर्तमान जिल्ला सचिवसमेत हुनुहुन्छ । दुवै पहिलोपटक प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।
सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा पनि उम्मेदवार हुनुहुन्छ । बागलुङ–१ ९२० ले जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका वडा नं १२, १३ र १४ लाई समेट्छ ।
पचास हजार पाँच सय ८० मतदाता रहेको बागलुङ–१ ९१० मा भने मुख्य प्रतिस्पर्धीका रुपमा पुरानै अनुहार देखिएका छन् । विसं २०७४ को प्रदेशसभा सदस्य चुनावमा पराजित दीपेन्द्रबहादुर थापा यसपालि पनि उम्मेदवारमा दोहोरिनुभएको छ । उहाँका विरुद्ध एमालेले युवा नेता हीराबहादुर खत्रीलाई उतारेको छ ।
थापाले अघिल्लो चुनावमा एमालेका इन्द्रलाल सापकोटासँग हार व्यहोर्नुपरेको थियो । वाम गठबन्धनबाट साझा उम्मेदवार रहनुभएका सापकोटाले १७ हजार नौ सय १५ र थापाले ११ हजार नौ सय ८९ मत ल्याउनुभएको थियो । अहिलेको चुनावमा भने थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।
कांग्रेसका पूर्वजिल्ला सभापति थापाले यसपालिको चुनावलाई हारको बदला लिने अवसरका रुपमा लिनुभएको छ । थापालाई एमालेका जिल्ला अध्यक्ष खत्रीको चुनाती छ । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित खत्रीलाई एमालेले प्रदेशसभा उम्मेदवार बनाएको छ । यी दुवै यसअघिका चुनावमा परीक्षण भइसकेका पात्र हुन् ।
थापा र खत्रीबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । यो अन्यत्रको तुलनामा एमालेको जनमत बढी भएको क्षेत्र पनि हो । गत स्थानीय चुनावमा भने यहाँका दुईवटै स्थानीय तहमा कांग्रेस उम्मेदवारले जितेका थिए । बागलुङ–१ ९१० मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १ देखि ११ सम्मका वडा पर्छन् ।
यो क्षेत्रमा राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि उम्मेदवार हुनुहुन्छ । यी पनि प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् ।
बागलुङ–२ ९१० मा दुई जना मात्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट कांग्रेसका जीत शेरचन र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती चुनावमा होमिनुभएको छ । घर्ती पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बन्नुभएको हो भने शेरचन तेस्रोपटक ।
कांग्रेसका जिल्ला सभापति शेरचन विसं २०७४ र विसं २०७६ को उपचुनावमा बागलुङ–२ ९२० बाट चुनाव लड्नुभएको थियो । तेस्रोपटकमा जित निकाल्ने दाउसहित उहाँ चुनावी मैदानमा हुनुहुन्छ । दुई–दुई पटकसम्म जसले हराए उनै दलको साथ लिएर शेरचन स्वतन्त्र उम्मेदवार घर्तीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
अघिल्लो चुनावमा वाम गठबन्धनको एक्लै सामना गर्नुपर्दा उहाँ पराजित हुनुपरेको थियो । यसपालि शेरचनले चुनाव क्षेत्र पनि बदल्नुभएको छ । बागलुङ–२ ९२० का शेरचन ९१० बाट चुनाव लड्दै हुनुहुन्छ । एमालेले आफ्नै उम्मेदवार उठाउन नसकेपछि शेरचनका विरुद्ध स्वतन्त्र उम्मेदवार घर्तीलाई समर्थन गरेको छ । लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट हार्नुभएको थियो ।
विसं २०७४ को स्थानीय तह चुनावमा नेकपा ९माओवादी केन्द्र०बाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ ।
विसं २०६२ मा काठमाडौँको ताहचल क्याम्पसको स्ववियु सभापति हुँदै विद्यार्थी राजनीतिबाट जिल्ला पार्टीको नेतृत्वसम्म आइपुग्नुभएका शेरचन र स्वतन्त्र उम्मेदवार घर्ती एकार्काका लागि कति चुनौती बन्ने हुन् त्यो त हेर्न बाँकी छ ।
दुई जना मात्र उम्मेदवार रहेकाले सो क्षेत्रको चुनावलाई चासोपूर्वक हेरिएको छ । गलकोट नगरपालिका, ताराखोला र बडिगाड गाउँपालिका सो क्षेत्रमा पर्छन् । त्यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन् ।
बागलुङ–२ ९२० मा भने मुख्य प्रतिस्पर्धी उम्मेदवार नयाँ छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने कांग्रेसका द्रोर्ण कुँवर र एमालेका लक्ष्मण पुन चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेस महाधिवेशन प्रतिनिधि कुँवर र एमालेका जिल्ला उपाध्यक्ष पुन दुवै पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बन्नुभएको हो ।
कुँवरलाई पाँच दलीय गठबन्धनको साथ छ भने पुन एमालेको आफ्नै शक्तिका आडमा जित्ने रणनीतिमा हुनुहुन्छ । सो क्षेत्रमा विसं २०७४ को चुनाव र त्यसपछिको उपचुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जितेका थिए । वाम गठबन्धनसामु त्यतिबेला काँग्रेस कमजोर देखिएको थियो ।
अहिले जिल्लाका निर्णायक दुई वाम शक्ति माओवादी केन्द्र र जनमोर्चालगायतसँग मिलेर कांग्रेस चुनाव लड्दैछ । एकचालीस हजार दुई सय २७ मतदाता रहेको सो क्षेत्रमा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका पर्छ ।
जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा भने गठबन्धन र एमालेका उम्मेदवारबीच हुनेछ ।रासस
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डिल्लीराम सुवेदी, #राजनीतिक सहयोद्धा नै चुनावमा मुख्य प्रतिस्पर्धी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्