चक्रवर्ती कलेज अनिश्चितकालका लागि बन्द
काठमाडौं । शूल्क विवादका कारण उत्पन्न तनावपछि चक्रवर्ती ल कलेज अनिश्चितकालका लागि बन्द गरिएको छ । कलेज व्यवस्थापनले कुनै कारण नखुलाई कलेज बन्द गरिएको सूचना टाँसेको हो ।
पाँच वर्षे बीए एलएलबीको शुल्क एकैपटक झण्डै चार लाख रुपैयाँ बढाएपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए । कांग्रेस, एमाले र माओवादी निकट विद्यार्थी संगठनले चार दिनअघि कलेजमा तालाबन्दी गरेपछि पठनपाठन हुन सकेको थिएन । हिजो कलेज प्रशासनले जबरजस्ती ताला फुटाएपछि तनाव उत्पन्न भएको थियो ।
आक्रोशित विद्यार्थीहरुले कलेजमा तोडफोड गरेका थिए । त्यसपछि प्रहरी आएर स्थिति नियन्त्रणमा लियो । यस क्रममा प्रहरीको कुटपिटबाट केही विद्यार्थी घाइते भएका छन् । एक विद्यार्थीका टाउको फुटेको छ । यस्तै एकजनाको हात र अर्काको खुट्टा भाँच्चिएको कलेजमा अध्ययनरत अनेरास्ववियूकी केन्द्रीय सदस्य जस्मिन ओझाले जानकारी दिइन् ।
स्थिति नियन्त्रणमा आइसकेपछि कलेजले अनिश्चितकालीन बन्दको सूचना टाँसेको हो । कलेजको शुल्क घटाएर तत्काल पठनपाठन सूचारु गराउन माग गर्दै आजबाट विद्यार्थी संगठनहरु धर्नामा बसेका छन् । नेविसंघ, अखिल र अखिल क्रान्तिकारीका विद्यार्थी संयुक्त रुपमा धर्नामा बसेका हुन् । कलेजका प्रतिनिधि भने अनुपस्थित छन् ।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको चक्रवर्ती ल कलेजमा शैक्षिक सत्र २०७९ को भर्ना प्रक्रिया सुरु हुँदा अस्वाभाविक रुपमा शुल्क वृद्धि गरिएको थियो । जसअनुसार बीए एलएलबीको शूल्क ७ लाख १६ हजार ४०० रुपैयाँबाट १० लाख ७० हजार रुपैयाँ पुर्याइएको छ ।
यस्तै एलएलएमको शुल्क ३ लाख २३ हजार २०० बाट ५ लाख ४८ हजार पुर्याइएको छ । सोमबार भएको वार्तामा कलेज व्यवस्थापनले शुल्क बढीमा ५० हजार रुपैयाँमात्रै घटाउन सकिने बताएको थियो । विद्यार्थी संगठनहरु त्यसमा असहमत भएका थिए ।
हिजो भएको आन्दोलन दबाउन कलेजले प्रहरीमात्र नभएर बाउन्सरसमेत प्रयोग गरेको आरोप विद्यार्थीले लगाएका छन् । एक विद्यार्थीलाई लाइब्रेरीभित्र थुनेर कुटपिट गरिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #], #breaking, #चक्रवर्ती कलेज अनिश्चितकालका लागि बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्