रामेछाप दुर्घटना अपडेट : ९ जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ ।
रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।
सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।
दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।
हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताउनुभयो ।
उहाँका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उहाँले बताउनुभयो ।
बिहान अन्दाजी १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्य भएका नौमध्ये चार महिला र पाँच पुरुष छन् । उनीहरुको पहिचान खुलेको छैन । दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिनुभयो ।
तीनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०-३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ मन्थलीबाट पश्चिम ४ घन्टाको यात्रामा घटनास्थल पुगिने भन्दै अहिले आफ्नो टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो ।
स्थानीयवासी र प्रहरीले उद्धार कार्य सम्पन्न गरी शवको जाँच मुचुल्का उठाउने कार्यमा प्रहरी जुटेको सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दुर्घटना, #सुनापाती गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्