अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः आपूर्तिमन्त्री बडू
काठमाडौँ । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ ।
नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन खरिद गरिरहेको जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत आवको तुलनामा चालु आवको १० महिनामा मात्रै रु एक खर्ब बढीको आयात भएको बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर मन्त्री बडूले चालु आवको १० महिनामा दुई अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ र ६८ मेट्रिक टन खाना पकाउने ग्यास खरिद गरिएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने निर्णय गरेको र सो प्रस्ताव अर्थमन्त्रालयमा विचाराधीन रहेको उहाँले बताउनुभयो ।
विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि उच्चस्तरीय कार्यदल गठन गरिएको छ । सो कार्यदलको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुनुहुन्छ । समितिमा सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् ।
निगम निजीकरणको प्रचार शतप्रतिशत गलत
सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने प्रचार गलत रहेको र शतप्रतिशत झुटो रहेको मन्त्री बडूले बताउनुभयो । उहाँले गलत प्रचार नगर्नसमेत आग्रह गर्नुभयो ।
मन्त्री बडूले पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण गर्न निजी क्षेत्रलाई दिन लागिएको भन्ने प्रचार गलत रहेको र गलत हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । उहाँले निगमलाई बढी व्यवस्थित बनाउन लागिएको उल्लेख गर्नुभयो ।
ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति
बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले गर्नुभएको टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री बडूले बताउनुभयो । निगमलाई वित्तीय, व्यस्थापकीय सुधार गरेर आयातलाई सहज बनाउने उद्देश्यले सरकारले प्रक्रिया अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दलका नेताले आधारहीन वक्तव्य दिएको भन्दै मन्त्री बडूले सत्ता गुमाउनुपर्दाको पीडा पूर्वप्रधानमन्त्री ओलीको तर्फबाट बिहीबार संसद्मा प्रस्तुत भएको उल्लेख गर्नुभयो । मन्त्रीको उक्त वक्तव्य आएपछि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदहरु खगराज अधिकारी र विशाल भट्टराईले आपत्ति जनाउनुभयो ।
एमालेका सांसदले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका प्रमुख सचेतक भट्टराईलाई बोल्ने समय दिनुभयो । भट्टराईले मन्त्रीको वक्तव्य तथा प्रमुख विपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन आग्रह गर्नुभयो । त्यस्तै, एमाले सांसद अधिकारीले पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन पुनः आग्रह गर्नुभयो ।
त्यसपछि सभामुख सापकोटाले पुनः मन्त्री बडूलाई बोल्ने समय दिनुभयो । मन्त्री बडूले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेताले निगम निजीकरण गर्न लागिएको र कमिसन खान लागेको भन्नेजस्ता टिप्पणी शतप्रतिशत गलत रहेको पुनः दोहोर्याउनुभयो ।
एमाले सांसदले विरोध जनाएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ । मन्त्री बडूले निगम पछिल्लो समय रु ४७ अर्ब घाटामा भएको र भारतीय आयल कर्पोरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी रहेको जानकारी दिनुभयो ।–रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #दिलेन्द्रप्रसाद बडू, #पेट्रोलियम पदार्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्