Techie IT
शुक्रबार, वैशाख २६,२०८२

मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको सम्झनामा श्रद्धा भक्तिपूर्वक मनाइयो ‘रामनवमी’

कोरोनाका कारणअधिकांश भक्तजनले घरमै बसेर पूजा आराधना गरे


काठमाडौं ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पु¥याउनुभएको योगदानको सम्झनामा रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा देशभर रहेका भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न  घरमै बसेर पूजा आराधना गरेका छन् ।

जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गरेकामा यस वर्ष कोरोनाका कारण कमै भक्तजन आएका छन् । प्राचीनकालदेखि नै विवाह पञ्चमी र रामनवमीका दिन जनकपुरमा नेपाल र भारतका धार्मिक पर्यटकको भीड लाग्ने गर्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान् विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको थियो । पुत्र नहुँदा दुःखी रहनुभएका राजा दशरथले ऋषि वसिष्ठको सल्लाहमा पुत्रेष्टि यज्ञ गरेपछि तीन रानीबाट चार पुत्रको जन्म भएको थियो ।

जनताको भावनाअनुसार शासन गर्ने विष्णुको अवतारका रुपमा मनुष्य लोकमा जन्म लिई आदर्श शासन गर्नुभएका राजा रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने एवं पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने विषय ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गर्नुभएको थियो । उहाँले संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गर्नुभएको थियो ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुशी राख्न सक्ने राजा हुनुपर्छ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको छ । त्यसै कारण रामको जीवनबाट अहिलेका शासकले शिक्षा ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##मनाइयो ‘रामनवमी’, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545