Techie IT
आईतबार, साउन १०,२०८३

नेपाल क्यान्सर अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु


नेपाल क्यान्सर अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु

काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले अत्याधुनिक प्रविधियुक्त एमआरआई (MRI) सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले विशेष समारोहबीच रिबन काटेर नयाँ सेवाको उद्घाटन गरेका हुन्।

अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले अत्याधुनिक एमआरआई सेवा सञ्चालन र दीर्घकालीन रणनीतिक योजनाले नेपालमा क्यान्सर उपचार तथा निदान सेवाको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले अत्याधुनिक एमआरआई सेवा सञ्चालनमा आएसँगै बिरामीले छिटो, गुणस्तरीय र भरपर्दो निदान सेवा प्राप्त गर्ने बताइन्। उनका अनुसार नयाँ प्रविधिले क्यान्सरका साथै मस्तिष्क, मेरुदण्ड, स्नायु प्रणाली, हड्डी, जोर्नी तथा अन्य जटिल रोगहरूको प्रारम्भिक पहिचान र उपचार योजना बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

उनले आधुनिक स्वास्थ्य प्रविधिलाई नेपालमै उपलब्ध गराएर अन्तर्राष्ट्रियस्तरको निदान सेवा प्रदान गर्ने अस्पतालको लक्ष्य रहेको उल्लेख गर्दै नयाँ एमआरआई सेवाले उपचार प्रक्रियालाई अझ प्रभावकारी, सहज र विश्वसनीय बनाउने विश्वास व्यक्त गरिन्।

यससँगै अस्पतालले आगामी १० वर्षका लागि तयार गरिएको दीर्घकालीन रणनीतिक योजना पनि अघि बढाइरहेको जनाएको छ। सो योजनाअन्तर्गत करिब १०० करोड रुपैयाँको लगानीमा विश्वस्तरीय सर्वाङ्गीण क्यान्सर केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ।

रणनीतिक योजनामा अत्याधुनिक क्यान्सर निदान तथा उपचार सेवा विस्तार, आधुनिक रेडियोथेरापी र शल्यचिकित्सा, अनुसन्धान तथा नवप्रवर्तन, दक्ष विशेषज्ञ जनशक्ति उत्पादन, डिजिटल स्वास्थ्य प्रणालीको विकास तथा बिरामीकेन्द्रित सेवाको सुदृढीकरणलाई प्राथमिकता दिइएको छ।

अस्पतालले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको समग्र क्यान्सर उपचार केन्द्र नेपालमै स्थापना गरी स्वदेशभित्रै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा वैदिक पूजाआजा सम्पन्न गरिएको थियो। कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन टोली तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


क्याटेगोरी : स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्