काठमाडौं – गायक प्रकाश सपुतले आफ्नो ‘पिर’ गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाउनु भएको छ । विवादमा आएपछि सपुतले आफ्नो नयाँ गीत पिरका दृश्य सम्पादन गरी पुनः अपलोड गर्नुभएको छ ।
गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए ।
गीत आलोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।
पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो ।
त्यसैले कुनै दबाबरप्रभावले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि–अपलोड गरिएको छ ।’ ‘सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा–गल्बन्दी, १५ दिनमा–कुरा बुझ्नपर्छ र ७ दिनमा–पिर करोड पटक हेरिएको छ । हाम्रो प्रयासको इतिहास र तपाईंको प्रेमको इतिहास निरन्तर दोहोरिएको छ ।
एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक सङ्गीत बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस् भनेर मैले आफ्नो सफलतालाई सामान्य रूपमा लिन थालेको छु । यद्यपि तपाईंको अमूल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिति र स्थान बनाएको छु । रेकर्डहरू बनाएको छु । सपना र सङ्घर्ष पछिको यो सफलता भने सामान्य होइन ।
तपाईको कमेन्ट लेख्नुहोस्