Techie IT
शुक्रबार, साउन २२,२०८३

नाडाको ५० औं स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट


काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ ।

अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको यस प्रदर्शनीलाई यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ले मुख्य प्रायोजकका रूपमा प्रस्तुत गरेको छ ।

५ दशक लामो ऐतिहासिक यात्रा पूरा गरेको उत्सव मनाउन नाडाले अवलोकनकर्ताहरूका लागि खल्ती एपसँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो ।

अफरअन्तर्गत खल्ती एपमा गएर वा आधिकारिक खल्तीको क्युआर स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताहरूले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत भारी छुट पाउनेछन् । यो छुट योजना सीमित अवधिका लागि मात्र रहने भएकाले समयमै टिकट सुरक्षित गर्न नाडाले आग्रह गरेको छ ।

यस वर्षको प्रदर्शनीमा नवीनतम ईभी (इलेक्ट्रिक) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनहरू, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्टका साथै वित्तीय तथा बीमा सुविधाहरू एकै ठाउँमा उपलब्ध गराइनेछन् ।

५० वर्षको गौरवमय यात्रालाई उत्सवका रूपमा मनाउन र नयाँ प्रविधिसँग साक्षत्कार गर्न अटोप्रेमी, युवा तथा विद्यार्थीहरूलाई आयोजक नाडाले आह्वान गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #नाडाको ५० औं स्वर्ण वर्ष


तपाईको कमेन्ट लेख्नुहोस्