रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि
काठमाडौँ, भदौ ३ गते । आर्थिक वर्ष २०८०/८१ मा साढे १४ खर्ब रुपियाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार असार मसान्तसम्म १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । आव २०७९/८० को तुलनामा १६.५ प्रतिशतले बढी हो । आव २०७९/८० मा रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा भने सङ्कुचन आएको छ ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार १९९ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार ७०४ र दुई लाख ७७ हजार २७२ रहेको थियो ।
समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।
शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्बले बचतमा
आर्थिक वर्ष २०८०/८१ मा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा तीन अर्ब ७७ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा एक अर्ब ६६ करोडले बचतमा रहेको छ ।
यस्तै पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई पाँच अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर सात अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब १७ करोड रहेको थियो ।
उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत
गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । आव २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आव यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
वस्तु निर्यात तीन प्रतिशतले कमी
आव २०८०/८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई एक खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ ।
वस्तु आयात १.२ प्रतिशतले कमी
समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आइ १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.० प्रतिशत र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले वृद्धि भएको छ ।
सञ्चिति ३२.६ प्रतिशतले वृद्धि
गत आवको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्धि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ असार मसान्तमा ३७.४ प्रतिशतले वृद्धि भई १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा ०.५ प्रतिशतले कमी आई एक खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । २०८१ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्