कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्युः १३ हजारमा संक्रमण
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको हो ।
एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको मृत्यु भएको एनआरएन, कोभिड –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको जनाइएको छ । स्वास्थ्य समितिको तथ्यांकानुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपाली १६ प्रतिशत छन् ।
बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन । संयोजक डा सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८२१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संस्थाले जनाएको छ ।
संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिनुभयो । अत्यधिक कोरोना प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५, युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्टे«लियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकङ्ग, पोल्याण्ड र रुसमा दुईदुई तथा म्यानमा, रोमानिया र फ्रान्समा एक नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।
चीनबाट शुरु भएको कोरोना भाइरसविरुद्ध लड्न एनआरएनएले अध्यक्ष कुमार पन्तका संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो । संस्थाले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिलालगायत उपसमिति गठन गरी विश्वव्यापी रुपमा आफ्नो सञ्जाललाई कोरोना पीडितका लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिनुभयो । डा शर्माका अनुसार कोरोना पीडितका लागि राहत वितरण गर्न ४९ देशमा दुई हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ ।
संस्थाले शनिबार साँझसम्म ४० हजाभन्दा बढी गैरआवासीय नेपालीलाई राहत वितरण गरेको छ भने संस्थाबाट ६२ हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् । संस्थाले स्थापना गरेको कोरोना पीडित राहत कोषमा विभिन्न राष्ट्रिय समितिबाट रु आठ करोड संकलन गरिएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाले यसअघि १० देशका नेपालीलाई राहतस्वरुप आर्थिक सहयोग गरेका थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्युः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्