राजधानीको उत्तरपूर्वी भेगमा तीव्र गतिमा ‘र्यापिड टेस्ट’
राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिए÷नफैलिएको पत्ता लगाउन तीव्र गतिमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) शुरु भएको छ । यही वैशाख १ गते कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा वडा नं ९ को सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना पोजेटिभ देखिएपछि यस क्षेत्रका तीन नगरपालिकामा तीव्र गतिमा परीक्षण शुरु भएको हो ।
तीनै जनाको राष्ट्रिय प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा भने दुई जनाको पोजेटिभ र एक जनामा नेगेटिभ देखिएको स्वास्थ्य प्रतिवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको तीन स्थानमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिनुभयो । नगरपालिकाको आलापोट र डाँछी स्वास्थ्य चौकी एवं मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ । हालसम्म आलापोटमा १८, थलीमा ३२ र मूलपानीमा ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट भएको उहाँले बताउनुभयो ।
सनसिटी अपार्टमेन्टमा केन्द्रीयस्तरबाटै २०० जनाभन्दा बढीको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैमा नेगेटिभ नै भेटिएको नगरपालिकाले जनाएको छ । विदेशबाट आएकालाई खोजी खोजी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थालिएको छ । यसैगरी रुघा, खोकी, ज्वरो आदि लक्षण देखिई शङ्का लागेकालाई पनि यो परीक्षण गरिने जनाइएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकाको चार ठाउँमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ ।
नगरपालिकाको नयाँपाटी स्वास्थ्य चौकी, गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र जोरापाटी चोकको याङ्ग्री अस्पतालमा गरी २४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं २ नयाँपाटीमा विदेशबाट आएका १५ जनाकै परीक्षण गर्दा नेगेटिभ देखिएको छ । यो वडामा धेरै मानिस बन्दाबन्दी शुरु भएपछि विदेशबाट आई खुलारूपमा हिँड्दा स्थानीयवासी त्रसित थिए ।
प्रारम्भिक परीक्षणमा सबैमा नेगेटिभ भेटिएपछि त्रास हटेको २ नं वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताउनुभयो । शङ्खरापुर नगरपालिकामा ३७ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । पटाप स्वास्थ्य चौकीमा दूई, नाङ्लेभारे स्वास्थ्य चौकीमा पाँच, लप्सीफेदी स्वास्थ्यचौकीमा तीन, सुषमा कोइराला मेमोरियल अस्पतालमा १९ र इन्द्रायणी प्राथमिक स्वास्थ्य केन्द्रमा आठ जनाको परीक्षण गरिएकामा सबैमा नेगेटिभ देखिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
विदेशबाट आएका सात जनाको अझै परीक्षण गर्न बाँकी रहेको सूचना आएकाले बिहीबारसम्म तिनको पनि प्रारम्भिक परीक्षण गरिने उहाँले बताउनुभयो । सनसिटी अपार्टमेन्टको घटनापछि यस क्षेत्रमा सजगतासमेत अपनाइएको नगरापालिकाले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्