अब हिंसा र क्रान्ति आवश्यक छैन : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ ।
नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने स्पष्ट गर्नुभयो ।
नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै उहाँले भन्नुभयो, “अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् । कम्युनिष्टको बर्काे ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानूनबमोजिम नियन्त्रण गर्छ । यसमा पार्टी पङ्क्ति स्पष्ट भए हुन्छ ।”
त्यस्तो समूहलाई सरकारले प्रतिबन्ध लगाउन नहुने तर्क राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको जिकिर गर्दै उहाँले मुलुकबाट पृथकतावादको कुरा र हिंसात्मक राजनीतिको अभ्यास समाप्त भएको जनाउनुभयो ।
पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै उहाँले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्रका असन्तुष्टिलाई बाहिर उछालेर भए–नभएका कुरा सार्वजनिक गर्ने अनुशासनहीन प्रवृत्ति उचित नभएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेतृत्वले कुनै लाखापाखा गर्दैन । त्यसैले अब कसैले गुटबन्दी गर्नु पर्दैन । गुटबन्दी र फुटको शिक्षाबाटै हामी एकताबद्ध भएर सुविधाजनक बहुमतको कम्युनिष्ट सरकारको चरणमा पुगेका छौँ । अब सामाजिक रूपान्तरणको काममा सबै लाग्नुपर्छ ।”
पार्टी एकतापछि हाललाई सामाजिक न्यायसहितको समाजवादको लक्ष्यमा केन्द्रीत जनताको जनवाद विचारधारा लिइएको उल्लेख गर्दै उहाँले जनतामा भनेर मात्र नभई गरेर देखाउने गरी नेता कार्यकर्ताहरु प्रस्तुत हुन आग्रह गर्नुभयो ।
केन्द्र, प्रदेश र स्थानीय तहमा विकासको आधार शुरु भएको र यसबीचमा धेरै कानून निर्माण भएकाले केही काम भएन भनी सरकारको आलोचना भएन भनिनुको अर्थ नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले कम्युनिष्ट सरकारले आयोजना गरेकाले लगानी सम्मेलन सफल हुँदैन भनेर गरिने टिप्पणी देशको हितविरुद्ध भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले पूँजी र प्रविधिको विकासका लागि विदेशी लगानी स्वीकारेका छौँ र निजी क्षेत्रसँग सहकार्य गरेका छौँ । यो दलाल पूँजीवाद होइन । यसो नगर्ने हो भने विदेशबाट सामान किनेर प्रयोग गरिरहनुपर्ने परनिर्भर अवस्थामा हामी रहनेछौँ ।”
कार्यक्रममा अध्यक्ष ओलीले २१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ दिलाउनुभयो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठित प्रदेश कमिटीमा नारायण दाहाल अध्यक्ष र आनन्द पोखरेल सचिव हुनुहुन्छ । कार्यक्रममा पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल, प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य र सहइञ्चार्ज हितबहादुर तामाङलगायत उपस्थिति हुनुहुन्थ्यो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको प्रदेश नं ३
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्