Techie IT
सोमबार, भदौ २९,२०८३

कांग्रेस विवाद : देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि चर्किएको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले संस्थापन समूहले अघि सारेको पछिल्लो प्रस्ताव अस्वीकार गर्दै आफूले तय गरेको महाधिवेशनको तयारीलाई निरन्तरता दिने भएको छ।

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित सदस्यसरह मान्यता दिने संस्थापन पक्षको निर्णयप्रति देउवा पक्षले असहमति जनाएको हो। सोमबार बिहान महाराजगञ्जस्थित देउवा निवासमा बसेको इतर समूहको बैठकले संस्थापनको निर्णय स्वीकार नगर्ने निष्कर्ष निकालेको नेता प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार वडा अधिवेशनमा सहभागी भएको आधारमा केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित सदस्यसरह मान्यता दिने प्रस्ताव व्यवहारिक नभएको निष्कर्ष बैठकले निकालेको छ।

‘हामी अघि बढ्छौँ। वडा अधिवेशनमा सहभागी भए केन्द्रीय सदस्य सरहको मान्यता दिने रे, यस्तो हास्यास्पद कुरा पनि हुन्छ र ?’, महतले भने ।

देउवा पक्षले मंसिरमा गर्ने भनिएको १५औँ महाधिवेशनको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ। बैठकका निर्णयबारे दिउँसो ४ बजे भक्तपुरको चुनदेवीस्थित सम्पर्क कार्यालयबाट पत्रकार सम्मेलनमार्फत जानकारी गराइने सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले बताए।

कांग्रेसभित्र गत पुसमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएपछि विवाद थप गहिरिएको हो। त्यसयता दुवै समूहले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाउँदै आएका छन्।

संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन सुरु गर्ने तथा असोज १६ देखि १९ गतेसम्म खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ। देउवा पक्षले भने असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot, #कांग्रेस विवाद : देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार


तपाईको कमेन्ट लेख्नुहोस्