काठमाडौं । उत्तर प्रदेश र बिहारमा पछिल्लो २४ घण्टामा आँधीबेहरी, भारी वर्षा र चट्याङका कारण ४८ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार, उत्तर प्रदेशमा आँधीबेहरी र वर्षाले ३१ जनाको ज्यान गएको छ । धेरै जिल्लाहरूमा रूखहरू ढलेका छन्, पर्खाल भत्किएका छन् । प्रभावित क्षेत्रहरूमा स्थानीय प्रशासनले राहत र उद्धार कार्य सुरु गरेको छ ।
मौसम विभागले शनिबार उत्तर प्रदेश राज्यका ७५ वटै जिल्लामा वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ । मानिसहरूलाई अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन सल्लाह दिइएको छ ।
यस्तै, बिहारमा आँधीबेहरी, वर्षा र चट्याङका कारण १७ जनाको मृत्यु भएको हो । राजधानी पटनामा खराब मौसमका कारण चार उडानहरू डाइभर्ट गर्नुपर्यो भने १८ उडानहरू निर्धारित समयभन्दा ढिलो सञ्चालन भएको छ ।
मौसम विभागले राज्यका २५ जिल्लाहरूमा वर्षाको पूर्वानुमान गरेको छ । जुन १ मा प्रतिघण्टा ८० देखि ९० किलोमिटरको गतिमा शक्तिशाली आँधीबेहरी र असिना पर्ने चेतावनी जारी गरिएको छ ।






तपाईको कमेन्ट लेख्नुहोस्