Techie IT
शुक्रबार, कात्तिक २२,२०८२

कांग्रेस सुदृढीकरणका लागि नियमित महाधिवेशन र एकता आवश्यक : नेता दिपक खड्का


काठमाडौँ — नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले पार्टीलाई सुदृढ र क्रियाशील बनाउन नियमित महाधिवेशन र आन्तरिक एकता अपरिहार्य भएको बताउनुभएको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता खड्काले आगामी २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टीले तयारी अघि बढाउनुपर्ने धारणा राख्नुभयो। “नियमित महाधिवेशन हुँदा पार्टी वडा तहदेखि केन्द्र तहसम्म सक्रिय र जिम्मेवार बन्छ,” उहाँले भन्नुभयो।

उहाँले नेपाल सनातन वैदिक र धार्मिक राष्ट्र भएकाले संविधानमै ‘राष्ट्रिय धर्म’ उल्लेख गरेर निर्वाचनमा जानुपर्ने सुझाव पनि दिनुभयो। उहाँका अनुसार कांग्रेस कमजोर हुँदा राष्ट्रियता कमजोर हुने, नागरिक असुरक्षित हुने र लोकतन्त्र जोखिममा पर्ने भएकाले आन्तरिक मतभेद बिर्सेर सबै नेता तथा कार्यकर्ताले एकताबद्ध हुन आवश्यक छ।

संगठन र नीति सम्बन्धी प्रस्ताव

नेता खड्काले पार्टीका सबै केन्द्रीय पदाधिकारीहरू वुथबाटै प्रतिनिधि भएर आउने व्यवस्था गर्नुपर्ने, सबै तहमा कम्तीमा १० प्रतिशत जेनजी पुस्ताका लागि सिट सुरक्षित गर्नुपर्ने र विधानलाई समयानुकूल बनाउन विधायन संशोधन समिति गठन गर्नुपर्ने प्रस्ताव गर्नुभयो।
त्यससँगै, महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने र राष्ट्रिय पुँजी निर्माण तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न कांग्रेसले अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

भदौका घटनाप्रतिको प्रतिक्रिया

गत भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणको घोर भर्त्सना गर्नुभयो।
उहाँले पार्टीले समयमा यस विषयमा स्पष्ट रूपमा बोल्न नसकेकोमा दुःख व्यक्त गर्दै २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो।
सो घटनामा संलग्न कांग्रेसीहरूलाई पार्टीबाट निष्कासन गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको माग थियो।

सुरक्षा र सुशासनका सन्देश

उहाँले मुलुकमा शान्ति सुरक्षा कायम गर्न कांग्रेसले पहल गर्दै हरेक वडामा ‘नागरिक सुरक्षा समिति’ गठन गर्नुपर्ने र २४ गतेको विध्वंसलाई राष्ट्रमाथिको आतंकवादी गतिविधि घोषणा गर्नुपर्ने सुझाव दिनुभयो।
त्यसैगरी, पुँजी पलायन रोक्न, अर्थतन्त्र सबलीकरण गर्न, सुशासन र पारदर्शिता कायम गर्न कांग्रेसले अग्रणी भूमिका लिनुपर्नेमा उहाँले जोड दिनुभयो।

वर्तमान सरकारलाई अवैधानिक भन्दै उहाँले संसदमार्फत वैधानिक अनुमोदन लिएर स्वतन्त्र निर्वाचनमुखी सरकार गठन गरी २०८३ मंसीरमा निर्वाचन सम्पन्न गर्नुपर्ने प्रस्ताव गर्नुभयो।
संविधानको रक्षा गर्नुभएकोमा राष्ट्रपति प्रति धन्यवाद ज्ञापन गर्दै उहाँले पार्टीभित्र सहमति र एकता कायम गरी भ्रष्टाचारमुक्त सुशासन स्थापनाका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष प्रस्तुत गर्नुभयो।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेस केन्द्रीय कार्यसमिति, #केन्द्रीय कार्यसमिति बैठक, #नेपाली कांग्रेस, #पुर्वमन्त्री दिपक खड्का, #महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्