कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य हुनुहुन्छ । यसैगरी खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार हुनुहुन्थ्यो भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार हुनुहुन्थ्यो ।
उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित हुनुभएको छ । सभापति देउवा ‘प्यानल’ कै उहाँले एक हजार ९०६ मत प्राप्त गर्नुभएको छ । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नुभएको छ । कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भइसक्नुभएको छ । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । उपसभापति पदको मतपरिणाम घोषणापछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने बताइएको छ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्ता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेसको १४औँ महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्