कडाइका साथ सुशासन र तीव्रताका साथ विकास : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताउनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक समृद्धितर्फ पनि राज्यको ध्यान केन्द्रित छ ।”
प्रधानमन्त्री ओलीले पैसाले मात्रै विकास हुँदैन, सोच र चिन्तनले विकास हुन्छ, औपनिवेशिक कालमा जस्तो ठूला र धनीले साना र गरीबलाई शोषण गरेर धनी र सम्पन्न हुने चरण समाप्त भइसकेको छ भन्दै अब स्वतन्त्रता, सुरक्षा र सम्मान सहितको आधुनिक लोकतन्त्रका लागि साहित्य र संस्कृतिकर्मीहरु पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
जैविक र मानवीय न्यायोचित आवश्यकताको परिपूर्ति जनताको पहिलो शर्त भएको उल्लेख गर्दै उहाँले एकता, सहिष्णुता र मेलमिलाप नेपाली संस्कृति भएकाले नेपालको ऐतिहासिक र वैभवपूर्ण संस्कृतिलाई विश्वसमक्ष फैलाउनुपर्ने बताउनुभयो ।
शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीले नेपाली कला र संस्कृतिको विदेशीले समेत अन्वेषण गरिरहेको सन्दर्भमा स्वदेशका प्राज्ञिक निकायले आफूलाई त्यसमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले नेपालको हिमाली सभ्यता र परम्परालाई अग्रभागमा राखेर हिमवत् खण्डको संस्कृतिको अध्ययन र संरक्षणमा लाग्न सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो ।
वरिष्ठ कवि वैरागी काइँलाले कतिपय भाषा र संस्कृति लोपोन्मुख हुन लागेको बेला सम्मिलनले त्यसको जगेर्नामा योगदान दिन सक्ने अपेक्षा व्यक्त गर्नुभयो ।
सम्मिलनमा नेपाली साहित्यमा विद्यावारिधि बेलायती नागरिक डा माइकल हर्ट, भारतको सिक्किम विश्वविद्यालयका डिन डा कविता लामालगायत जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ ।
भारतको ग्वाँटी, उत्तराखण्ड, सिक्किम, कोलकोता, हिमाञ्चल, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलोङलगायत स्थानका साहित्यकारहरुको सहभागिता छ ।
सम्मिलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुने आयोजक समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #hot, #केपी शर्मा, #सुशासन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्