Techie IT

समाचार

बंगलादेशमा अवामी लिगका नेताका ५० भन्दा बढी घरमा आगजनी

बंगलादेशमा अवामी लिगका नेताका ५० भन्दा बढी घरमा आगजनी

काठमाडौं । बंगलादेशमा दुई विपक्षी नेताको हत्यापछि राजनीतिक हिंसा चर्किएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सम्बद्ध व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा तोडफोड तथा आगजनी गरेको आरोप लागेको छ ।

नराइल जिल्लाको कालिया उपजिल्लास्थित बेन्दर चार गाउँमा शुक्रबार दिउँसो सुरु भएको आक्रमण रातिसम्म जारी रहेको थियो । आक्रमणकारीले गतिविधिमा प्रतिबन्ध लगाइएको अवामी लिगका नेता तथा कार्यकर्तासँग सम्बन्धित सम्पत्तिलाई निशाना बनाएका थिए । आक्रमणमा पूर्वसांसद बीएम कबिरुल हक मुक्तिको पुख्र्यौली घर र कालिया नगरपालिकाका पूर्वमेयर फकिर मुसफिकुर रहमान लिटनको निवाससमेत परेको छ ।

अग्नि नियन्त्रण सेवाका अनुसार करिब २० देखि २५ घरपरिवारका ५० भन्दा बढी आवासीय संरचनामा आगलागीबाट क्षति पुगेको छ । बजारका केही पसलमा पनि आगजनी गरिएको छ । यद्यपि, स्थानीय प्रशासनले १५ देखि २० घरमा तोडफोड भएको र केही संरचनामा आगो लगाइएको जनाएको छ ।

गत बुधबार बीएनपीसम्बद्ध दुई नेताको हत्या भएपछि हिंसा भड्किएको हो । कालिया नगरपालिका कृषक दलका महासचिव साहिन मोल्लाह र जातीयतावादी सामाजिक सांस्कृतिक संगठन (जासास) का कालिया उपजिल्ला इकाइका महासचिव सोहेल मोल्लाहमाथि बेन्दर चारको बटटोला चोकमा मोटरसाइकल ¥यालीका क्रममा आक्रमण भएको थियो । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि खुल्नाका अस्पताल लगिएको थियो, जहाँ उनीहरूको मृत्यु भएको थियो ।

स्थानीयले शुक्रबारको आक्रमणमा बीएनपीसम्बद्ध व्यक्तिहरू संलग्न रहेको आरोप लगाए पनि स्थानीय बीएनपी नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । कालिया उपजिल्ला बीएनपीका महासचिव एसएम वाहिदुज्जमान मिलुले पार्टीका नेता तथा कार्यकर्ताले आगजनी आयोजना वा सहभागिता जनाएको भन्ने आरोप अस्वीकार गरेका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ हत्या भएका नेताका आफन्तसहित आक्रोशित समूह गाउँमा भेला भएर हत्यामा संलग्न रहेको आरोप लागेका अवामी लिगका कार्यकर्ताका घरमा आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको थियो ।

यसैबीच, नराइल प्रहरीले हिन्दू समुदायका घर तथा व्यवसायमा आक्रमण भएको भन्ने सामाजिक सञ्जालका दाबीलाई अस्वीकार गरेको छ । प्रहरीले त्यस्ता दाबी भ्रामक रहेको र पुराना तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका भिडियो प्रयोग गरेर घटनालाई गलत रूपमा प्रस्तुत गरिएको जनाएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बरमा स्वदेश फर्किने चर्चाबीच बंगलादेशमा राजनीतिक तनाव थपिएको छ । हिंसात्मक घटनापछि सीमा सुरक्षा बल (बीजीबी) ले विभिन्न जिल्लामा शान्ति सुरक्षा कायम गर्न ९६ प्लाटुन सुरक्षाकर्मी परिचालन गरेको छ ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले बंगलादेशको आन्तरिक राजनीतिक घटनाक्रमबारे टिप्पणी नगर्ने जनाएको छ । भारतले भने बंगलादेशसँग सकारात्मक र रचनात्मक सम्बन्ध कायम राख्ने चाहना व्यक्त गरेको छ । हसिना सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । उनी पक्षका कानुनी प्रतिनिधिले नयाँ दिल्लीस्थित बंगलादेशी उच्चायोगमा उनको नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि पहल गरेका छन् ।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्