Techie IT

समाचार

नेपालमै पूजा सामग्री उत्पादन र बजारीकरण गर्ने ‘गुरु मञ्जरी’ अभियान सुरु, ८०० भन्दा बढी पण्डितको सहभागिता

नेपालमै पूजा सामग्री उत्पादन र बजारीकरण गर्ने ‘गुरु मञ्जरी’ अभियान सुरु, ८०० भन्दा बढी पण्डितको सहभागिता

भुवन अधिकारी ्र काठमाडौं नेपालको धार्मिक तथा सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएका पूजा सामग्रीको स्वदेशमै उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यसहित अघि बढाइएको ‘गुरु मञ्जरी’ अभियानले धार्मिक क्षेत्रलाई व्यवस्थित, आत्मनिर्भर र प्रविधिमैत्री बनाउने लक्ष्य अघि सारेको छ।

मंसीर २ गते संचालित  सो  अभियान अन्तर्गत भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा आयोजित पण्डित सम्मेलनमा काठमाडौं उपत्यकाका करिब ८०० पण्डित तथा पुरोहितहरूको सहभागिता रहेको थियो। सम्मेलनमा धार्मिक कर्मकाण्डमा प्रयोग हुने पूजा सामग्रीको शुद्धता, गुणस्तर, सहज उपलब्धता, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा पण्डित–पुरोहितहरूको आर्थिक सशक्तीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दृष्टिवाणी धितालले गर्नुभएको थियो। आयोजकका तर्फबाट सम्मेलनमा सहभागी गुरु, पुरोहित तथा पण्डितहरूलाई गुरुदक्षिणासहित भोजन ग्रहण गराइएको थियो।
अभियानका परिकल्पनाकार तथा संस्थापक पं। प्रकाश ढोडारीले धार्मिक कार्यमा प्रयोग हुने सामग्रीको गुणस्तर र उपलब्धतालाई व्यवस्थित गर्दै नेपालमै उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले ‘गुरु मञ्जरी’ अभियान अघि बढाइएको जानकारी गराउनुभयो।

पं। ढोडारी अस्ट्रेलियामा सफल व्यवसायी तथा गुरु पण्डितका रूपमा स्थापित हुनुहुन्छ। उहाँले व्यक्तिगत सुखसुविधाभन्दा माथि उठेर धर्म, परम्परा तथा गुरुजनहरूको आर्थिक उत्थान र प्रगतिका लागि निरन्तर प्रयास गर्दै आउनुभएको छ। समाजसेवा, व्यवसाय र धर्मरक्षालाई एकसाथ जोडेर अघि बढाइएको उहाँको यो पहल धार्मिक क्षेत्रको विकास तथा गुरुजनहरूको सम्मान र आर्थिक सशक्तीकरणका दृष्टिले महत्वपूर्ण रहेको छ। ‘गुरु मञ्जरी’ अभियान समग्र हिन्दू समुदायमा एउटा नवीन र प्रभावकारी आयामका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ ।

नेपालमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार पूजा सामग्रीको ठूलो माग रहे पनि आवश्यक सामग्रीको ठूलो हिस्सा विदेशबाट आयात गर्नुपर्ने अवस्था विद्यमान छ। यस अवस्थालाई परिवर्तन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा धार्मिक सामग्रीको सहज र भरपर्दो उपलब्धता सुनिश्चित गर्ने अभियानको प्रमुख उद्देश्य रहेको छ ।

अभियानले परम्परागत धार्मिक सेवा र आधुनिक प्रविधिबीच समन्वय स्थापित गर्ने लक्ष्यसमेत लिएको छ। मोबाइल एपमार्फत पूजा सामग्री खरिद गर्न सकिने तथा आवश्यकताअनुसार पुरोहित सेवा प्राप्त गर्न सकिने व्यवस्था गर्ने योजना अघि सारिएको छ। यसले सेवाग्राही र पुरोहितबीचको सम्बन्धलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउनुका साथै धार्मिक सेवामा प्रविधिको प्रयोगलाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।

संस्थाले सन् २०१८ देखि अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतलगायतका देशहरूमा नेपाली धार्मिक परम्परासँग सम्बन्धित सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ। यस पहलले नेपाली धार्मिक संस्कृति तथा परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न र विदेशमा रहेका नेपाली समुदायलाई आफ्नो संस्कार तथा परम्परासँग जोडिराख्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सम्मेलनमा पण्डित तथा पुरोहितहरूको उल्लेखनीय सहभागिताले धार्मिक क्षेत्रलाई संगठित, मर्यादित र व्यावसायिक बनाउने आवश्यकतालाई थप उजागर गरेको छ। साथै, धार्मिक कर्मकाण्डमा संलग्न गुरुजनहरूको सम्मान, पेसागत सुरक्षा तथा आर्थिक अवस्थालाई सबल बनाउने अभियानको उद्देश्यप्रति सहभागीहरूले सकारात्मक चासो व्यक्त गरेका छन् ।

समग्रमा, धार्मिक आस्था र परम्पराको संरक्षणसँगै स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना, प्रविधिको उपयोग तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढाइएको ‘गुरु मञ्जरी’ अभियानले नेपालको धार्मिक क्षेत्रलाई आधुनिक, व्यवस्थित र आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्