Techie IT

राजनीति

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे : शंकर पोखरेल

रुपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग सम्बन्धित महत्त्वपूर्ण विषयले प्राथमिकता नपाएको टिप्पणी गरेका छन्। हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि सीमा विवाद, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन र नेपाली उत्पादनको भारतीय बजारमा पहुँचजस्ता विषयमा ठोस उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ।

प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले काठमाडौं महानगरपालिकामा ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने प्रधानमन्त्रीबाट भारतसँगको सीमा समस्याबारे गम्भीर पहल हुने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको बताए।

उनले सुगौली सन्धिपछिका सीमा तथा ऐतिहासिक विषयमा भारतसँग छलफल हुनुपर्नेमा त्यसले भ्रमणमा स्थान नपाएको उल्लेख गरे। त्यस्तै, लामो समयदेखि नेपालले उठाउँदै आएको सन् १९५० को सन्धि पुनरावलोकनको मुद्दासमेत प्राथमिकतामा नपरेको उनको भनाइ थियो।

नेपाली चिया, अलैँची र तरकारीले भारतीय बजारमा सहज प्रवेश नपाइरहेको अवस्थामा सरकारले यसबारे प्रभावकारी पहल गर्न नसकेको आरोप लगाउँदै पोखरेलले भारतबाट आउने वस्तुलाई प्राथमिकता दिइए पनि नेपाली उत्पादनको निर्यातमा पर्याप्त ध्यान नदिइएको बताए।

हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिँदै उनले त्यसको वास्तविक उपलब्धि कार्यान्वयनपछि मात्रै देखिने बताए। विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भए पनि कार्यान्वयन हुन नसकेको स्मरण गराउँदै उनले यसपटक पनि सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे।

विदेशी ऋण लिन नहुने धारणा राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नु उसको पुरानो नीतिमा आएको परिवर्तन भएको पोखरेलको टिप्पणी थियो। उनले विदेशी ऋण आवश्यक पर्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गरेको उल्लेख गर्दै भारतको एक्जिम बैंकबाट प्राप्त ऋण परिचालनमा देखिएका जटिलता र सडक निर्माणमा भएको ढिलाइले कार्यान्वयन पक्षको कमजोरी उजागर गरेको बताए।

सरकार सुशासन र विकासमा असफल

महासचिव पोखरेलले वर्तमान सरकार सुशासन र विकास दुवै क्षेत्रमा कमजोर देखिएको आरोप लगाए। ‘नो लाइन’ को नारा दिएर सत्तामा पुगेको सरकारले सरकारी सेवा प्रवाहलाई सहज बनाउन नसकेको, विदेशिने युवाको संख्या बढिरहेको, सेवाग्राहीले सरकारी कार्यालयमा सास्ती खेप्नुपरेको तथा लगानीको वातावरण निर्माण गर्न नसकेको उनको भनाइ थियो।

पुँजीगत खर्च कमजोर हुँदा विकास निर्माणले गति लिन नसकेको र भोटेकोसी बाढीबाट विस्थापित नागरिकको पुनर्स्थापनालगायत विपद् व्यवस्थापनमा समेत सरकार प्रभावकारी हुन नसकेको उनले बताए। बजारमा बढ्दो महँगी र अराजकता नियन्त्रण गर्न पनि सरकार असफल भएको उनको आरोप थियो।

सरकार वास्तविक समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको टिप्पणी गर्दै पोखरेलले सामाजिक सञ्जालमा देखिने सक्रियता र जनताको जीवनमा अनुभूत हुने उपलब्धिबीच ठूलो अन्तर रहेको बताए।

सरकारप्रति बढ्दो जननिराशाले सामाजिक असन्तुष्टि र अराजकता निम्त्याउन सक्ने चेतावनी दिँदै उनले जनताका समस्या सम्बोधन हुन नसके बंगलादेशमा देखिएको जस्तो परिस्थिति उत्पन्न हुन सक्ने धारणा राखे।

गएको निर्वाचनमा जनताले पुराना राजनीतिक दललाई दण्डित गरेको स्मरण गराउँदै उनले ती दलले आफूलाई नयाँ र विश्वासिलो विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्रसमेत संकटमा पर्न सक्ने बताए। संविधान निर्माण र लोकतन्त्र स्थापनामा योगदान दिएका दलहरूले जनतासँग टुटेको सम्बन्ध पुनः स्थापित गर्न एमालेले राष्ट्रिय भेलामार्फत अभियान सुरु गरेको उनले जानकारी दिए।

संविधान संशोधनमा आधारभूत संरचना जोगाउनुपर्ने

पोखरेलले समय र आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने भए पनि संघीय लोकतान्त्रिक व्यवस्थाको आधारभूत संरचना कमजोर हुने गरी संशोधन गर्न नहुनेमा जोड दिए।

संसद् र राजनीतिक दललाई बेवास्ता गर्ने प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको उनको टिप्पणी थियो। प्रधानमन्त्रीको स्वेच्छाचारितालाई नियन्त्रण गर्न नसके रास्वपा आफैँ राजनीतिक संकटमा पर्न सक्ने चेतावनी दिँदै उनले लोकतन्त्रको रक्षाका लागि एमाले अन्य राजनीतिक दलसँग सहकार्य गर्न तयार रहेको बताए।

निर्धारित समयमै निर्वाचन हुनुपर्ने एमालेको अडान

महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल वैशाखमा र प्रदेशसभाको कार्यकाल मंसिरमा सकिने भएकाले दुवै निर्वाचन एकैपटक गर्न सम्भव नरहेको उनको भनाइ थियो।

निर्वाचनबारे सरकारले अन्योल सिर्जना गरेको आरोप लगाउँदै उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुरा स्वीकार्य नहुने बताए। समयमा निर्वाचन हुन नसके राष्ट्रियसभा गठन, राष्ट्रपति निर्वाचन प्रक्रिया तथा संघीय लोकतान्त्रिक व्यवस्थाको आधारभूत संरचनामै असर पर्न सक्ने उनको चेतावनी थियो।

आगामी स्थानीय निर्वाचनमा वामपन्थी शक्तिबीच चुनावी तालमेल हुन सक्ने संकेतसमेत पोखरेलले गरेका छन्। विगतमा माओवादीले एमाले र नेपाली कांग्रेससँग गरेको चुनावी तालमेलको अनुभवबाट वामपन्थी दलबीच मत हस्तान्तरण र सहकार्यको आवश्यकता महसुस भएको उनले बताए।

यद्यपि, वामपन्थी दलबीच तालमेलका विषयमा औपचारिक छलफल भने भइनसकेको उनले स्पष्ट पारे। स्थानीय तहमा चुनावी सहकार्य गर्दा राम्रो परिणाम आउन सक्ने विषय अनौपचारिक रूपमा उठ्न थालेको उनको भनाइ थियो।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्