Techie IT
शनिबार, जेठ ४,२०८२

शेर बहादुर कुँवर मन्त्री भएपछि अछाम जिल्लावासीमा उत्साह


अछाम । अछामका कम्युनिष्ट नेता शेर बहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त हुनुभएको छ ।

अछामबाट लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनका एक सक्रिय नेता मन्त्री भए पछि सुदूरपश्चिम तथा यस क्षेत्रका जनताले खुसी व्यक्त गरेका छन् ।

जिल्लाले मन्त्री पाउनु खुसीको कुरा भएको भन्दै यस क्षेत्रमा विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा सुधार हुने स्थानीयले अपेक्षा गरेका छन् ।

को हुन् मन्त्री कुँवर

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य, सङ्गठन विभाग सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष रहेका मन्त्री कुँवर अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ साबिक पायल गाविस बडा नम्बर ५ मा स्व. कर्ण सिंह कुँवर र वसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ साल भाद्र ६ गते जन्मनु भएको हो ।

पाँच दाजुभाइ र तीन दिदीमा कान्छो सन्तानका रुपमा जन्मेका कुँवरले २०५२ साल माघ ११ गते अनेरास्ववियु अछामका नेतृ ध्रुवा खड्कासँग विवाह गर्नुभएको थियो । ध्रुवा हाल समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य हुनुहुन्छ । कुँवरका एक छोरी र एक छोरा छन् । मन्त्री कुँवर यसअघि राष्ट्रियसभाका सदस्य हुनुहुन्थ्यो । उहाँको चार वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत हुनुहुन्थ्यो ।

महेन्द्र मोरङ क्याम्पस विराटनगर अध्ययन गर्ने क्रममा कुँवर २०३८ सालदेखि नेकपा मालेको विद्यार्थी सङ्गठन अनेरास्ववियूमा आबद्ध भएर सक्रिय राजनीतिमा लाग्नुभएको थियो । बिराटनगरबाट काठमाडौँ आएर शंकरदेव क्याम्पसमा बिकममा भर्ना हुनुभएको थियो ।

विद्यार्थी सङ्गठनमार्फत राजधानीमा कुँवर २०४६ सालको जनआन्दोलनमा परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा पटक पटक गिरफ्तारमा पर्नुभएको थियो ।

गृह जिल्ला अछाम फर्केपछि ०४७ सालमा अछाममा अनेरास्ववियुको दोस्रो जिल्ला अधिवेशनबाट कुँवर कमिटीको अध्यक्ष बन्न सफल हुनुभएको थियो । ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य हुँदै कुँवर २०४९ को स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लड्नुभएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शेर बहादुर कुँवर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:12 am6:48 pm +0545