Techie IT
बुधबार, जेठ १,२०८२

कार्यकर्तालाई टोलटोलमा खटिन विष्णु पौडेलले दिए निर्देशन


बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावका लागि टोलटोलमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले नेतृत्वको सरकारले केन्द्रदेखि स्थानीय तहसम्म सुरु गरेका विकासका योजनाबारे जनतालाई बुझाउन र शासक नबनी सेवकको रूपमा प्रस्तुत हुन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।

मंगलबार बुटवलमा उम्मेदवारको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन तयारीका लागि गर्नुपर्ने सबै काम तत्काल गर्न पनि निर्देशन दिए ।

‘अब समय धेरै छैन, आन्तरिक तयारीका कामलाई छिटो टुंग्याउनुस् र जनताको घरदैलोमा जानुस्, विकासका योजना सुनाउनुस् र स्थानीय सरकारमा एमाले नेतृत्वमा रहँदा गरेका राम्रा कामहरूबारे बुझाउनुस्,’ पौडेलले भने ।

रुपन्देहीमा रहेका १६ वटा पालिका मध्ये कम्तीमा १३ वटा पालिकामा एमालेको जित निश्चित रहेको उनले दाबी गरे । ‘बुटवल उपमहानगरपालिकामा जित सुनिश्चित जस्तै छ, अन्य स्थानीय तहहरूमा पनि भारी मतान्तरले एमालेको जित हुने छ,’ उनले भने ।

सत्ता गठबन्धन रुपन्देहीमा भताभुंग भएको भन्दै पौडेलले गठबन्धनको नाममा एमालेलाई तर्साउन खोजेको सपना पूरा नहुने पनि बताए । ‘रुपन्देहीका धेरै पालिकामा गठबन्धन टुटेको छ, गठबन्धनमा आबद्ध दलका धेरै कार्यकर्ता अव एमालेमा आउँछौँ भनिरहेका छन्, उनले भने ।

बुटवल उपमहानगरपालिकामा एमालेले मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ । त्यस्तै चार जना वडा सदस्य दिएर राष्ट्रिय जनमुक्ति पार्टीसँग एमालेले तालमेल समेत गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले उम्मेदवारी मनोनयनका क्रममा देखिएको उत्साहले गठबन्धनभित्र समेत हलचल पैदा भएको बताए ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545