Techie IT
बिहीबार, असार ३२,२०८३

नानीमैयाँ आचार्यमाथि भएको कुटपिट प्रकरणमा राप्रपाका ६ महिला नेता कार्यकर्ता दोषी ठहर


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा नेतृ नानीमैयाँ आचार्यमाथि भएको हातपातको घटनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ जना महिलालाई अभद्र व्यवहार कसुरमा दोषी ठहर गरेको छ। प्रशासनले पीडितको उपचार खर्चसमेत भराउने आदेश दिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ (१) अनुसार उनीहरूले अभद्र व्यवहार गरेको ठहर गर्दै दफा ११८ (२) बमोजिम पीडित नानीमैयाँ आचार्यको उपचारबापत २ लाख ९४ हजार रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो।

यो घटना गत फागुन २१ गते राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै पार्टी कार्यालयभित्र भएको प्रदर्शनका क्रममा भएको थियो। समानुपातिक सूची सच्याउन माग गर्दै नानीमैयाँ आचार्यसहित चाहना अधिकारी, पूजा राणा, शोभा गुरुङ, सानुनानी सुनार, पवित्रा सुब्बा श्रेष्ठ, खुसी कार्की र घिउकुमारी बस्नेतलगायत नेतृहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा आचार्य आमरण अनशनमा समेत बसेकी थिइन्।

आचार्यले संस्थापन पक्षका महिलाबाट आफूमाथि हातपात भएको आरोप लगाउँदै अनिता विमली, कुमारी स्याङ्तान, अन्जु सुवेदी (प्रविता भण्डारी), नारायणी राई, रिता लाखाजु र विमली श्रेष्ठविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारसम्बन्धी उजुरी दर्ता गराएकी थिइन्।

उक्त उजुरीमाथि भएको सुनुवाइपछि प्रशासनले आरोपित सबै ६ जनालाई दोषी ठहर गरेको हो।

यसअघि राप्रपाले अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै केन्द्रीय सदस्यसमेत रहेकी नानीमैयाँ आचार्यलाई गत वैशाखदेखि अनिश्चितकालका लागि निलम्बन गरेको थियो।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #नानीमैयाँ आचार्यमाथि भएको कुटपिट प्रकरणमा राप्रपाका ६ महिला नेता कार्यकर्ता दोषी ठहर


तपाईको कमेन्ट लेख्नुहोस्