Techie IT
आईतबार, वैशाख २०,२०८३

रास्वपा सांसद केपी खनालको नक्सापासबिनै तीनतले घर, जग्गाको पनि छैन पूर्जा


कैलालीमा सार्वजनिक तथा ऐलानी जग्गामा बनेका संरचनामाथि कारबाही भइरहेको बेला सत्तारूढ दलकै एक सांसदको घर पनि विवादमा तानिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा अवैध संरचना हटाउने अभियान चलिरहँदा सोही पार्टीका सांसद केपी खनालको घर ऐलानी जग्गामा बनेको र त्यसको लालपूर्जा तथा नक्सा पास नभएको तथ्य सार्वजनिक भएको हो।

कैलालीको लम्की चुहा नगरपालिका–१ स्थित बसपार्क नजिक निर्माणाधीन उक्त घर सार्वजनिक ऐलानी जग्गामा रहेको बताइएको छ। घर निर्माणका लागि आवश्यक नक्सापास समेत नभएको खुलासा भएको छ।

खनालका स्वकीय सचिव हर्क पुनका अनुसार घर ऐलानी जग्गामै रहेको कुरा स्वीकार्य भए पनि अतिक्रमण गरेर बनाइएको भने होइन। उनका अनुसार खनालका बुबाआमाले भारतमा मजदुरी गरेर कमाएको पैसाबाट उक्त घर निर्माण गरेका हुन्, तर त्यसको आधिकारिक पुर्जा भने छैन।

प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित खनालले चुनावी अभियानका क्रममा आफूलाई भूमिहीन र ऐलानी जग्गामा बसोबास गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका थिए। उनले लालपूर्जा नभएको सुकुम्बासीको छोरो भएको भन्दै मतदातासँग समर्थन मागेका थिए र सोही आधारमा निर्वाचित भएका थिए।

लम्की चुहा नगरपालिकाकी प्रमुख शुशिला शाहीका अनुसार खनालको घर रहेको क्षेत्र अव्यवस्थित बसोबास क्षेत्रभित्र पर्छ र हालसम्म लालपूर्जा जारी भएको छैन। भूमि आयोगमार्फत प्रक्रिया अगाडि बढे पनि अन्तिम प्रमाणपत्र भने प्राप्त भइसकेको छैन। साथै, ऐलानी जग्गामा बनेको घर भएकाले त्यसको नक्सापास पनि नभएको उनले स्पष्ट पारिन्।

कैलाली जिल्लामा यस्तो समस्या व्यापक छ। भूमि समस्या समाधान आयोगका अनुसार लम्कीचुहामा मात्रै १६ हजारभन्दा बढी अव्यवस्थित बसोबासी परिवार छन् भने हजारौँ भूमिहीन दलित र सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन्। जिल्लाभर करिब १ लाख ४० हजार परिवारले भूमिको माग गर्दै निवेदन दिएका छन्।

सरकारले अवैध संरचना हटाउने अभियान अघि बढाइरहेको अवस्थामा भूमिहीनहरूको समस्या समाधान नगरी डोजर चलाउँदा यस्ता संरचनामा बस्नेहरू—सांसदसहित—कसरी प्रभावित हुने भन्ने विषयमा अहिले व्यापक बहस सुरु भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जग्गाको पनि छैन पूर्जा, #रास्वपा सांसद केपी खनालको नक्सापासबिनै तीनतले घर


तपाईको कमेन्ट लेख्नुहोस्