पहिलो पटक एमालेको राष्ट्रिय राजनीतिमा कर्णालीको ‘इन्ट्री’
नेकपा एमालेको इतिहासमा पहिलो पटक कर्णाली प्रदेशले केन्द्रीय पदाधिकारी पाएको छ। ११औँ राष्ट्रिय महाधिवेशनबाट यामलाल कँडेल केन्द्रीय सचिवमा निर्वाचित हुँदै कर्णालीका लागि ऐतिहासिक उपलब्धि हासिल भएको हो।
२००६ साल वैशाख १० गते स्थापना भएको एमालेमा कर्णालीले पदाधिकारी पाउन करिब सात दशक कुर्नुपरेको थियो। कर्णालीमा पुराना कम्युनिस्ट नेता भए पनि केन्द्रीय नेतृत्वमा पुग्न नसक्नुको कारण लामो समय बहुपदीय प्रणाली नहुनु, प्रभावशाली नेतृत्वको अभाव र केन्द्रको उपेक्षा रहेको एमाले नेता विष्णु रिजाल बताउँछन्।
यसअघि २०४९ सालमा अध्यक्ष–महासचिव प्रणाली सुरु भए पनि कार्यकारी शक्ति महासचिवमै केन्द्रित थियो। पछि २०६५ सालको आठौँ महाधिवेशनबाट एमाले बहुपदीय सामूहिक नेतृत्वमा गएको थियो। तर, त्यस अवधिमा पनि कर्णालीले प्रत्यक्ष पदाधिकारी पाउन सकेको थिएन।
२०७८ सालको दशौँ महाधिवेशनमा कँडेलले सचिवमा दाबी गरे पनि सफल हुन सकेनन्। तर ११औँ महाधिवेशनमा कर्णालीबाट संगठित दबाब, भूगोल र क्षमताको आधारमा गरिएको सशक्त दाबी सफल भएको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले बताए।
सचिव पदका लागि कर्णालीबाट यामलाल कँडेल र गोरख बोगटीबीच प्रतिस्पर्धा थियो। अन्ततः पार्टी अध्यक्ष केपी शर्मा ओलीले कँडेललाई रोजेपछि बोगटी पछि हटेका थिए।
यसअघि ओलीसँगको सम्बन्ध कमजोर हुँदा कँडेल केन्द्रीय राजनीतिमा अघि बढ्न नसकेको भनिए पनि पछिल्लो समय सम्बन्धमा सुधार आएको नेताहरू बताउँछन्। मुख्यमन्त्रीका रूपमा कँडेलको कार्यसम्पादनप्रति ओली र महासचिव शंकर पोखरेल दुवै सन्तुष्ट देखिएका थिए।
कर्णालीका नेता–कार्यकर्ताले केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व नहुँदा आफूहरू उपेक्षित भएको महसुस गर्दै आएका थिए। ११औँ महाधिवेशनले त्यो मनोभावनालाई सम्बोधन गरेको उनीहरूको भनाइ छ। अब कर्णालीका मुद्दा पार्टी केन्द्रमा कत्तिको प्रभावकारी रूपमा उठ्छन् भन्ने कुरा कँडेलको चारवर्षे कार्यकालले निर्धारण गर्नेछ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्