काठमाडौं । नेकपा (एमाले)को जारी ११ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयन हुने भएको छ ।
पार्टीको निर्वाचन आयोगले हिजो साँझ प्रकाशन गरेको निर्वाचन तालिका अनुसार मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानबिन बिहान १० बजेसम्ममा सकिनेछ भने १०:१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ ।
‘मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ । उम्मेदवारीको फारम पनि वितरण गर्दै गर्छौं’ आयोगका प्रमुख सुब्बा भन्छन्, ‘उम्मेदवारी दर्ता बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्ममा सकिनेछ ।’
उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो २:३० बजे हुनेछ । उम्मेदवारका विरुद्ध उजुरी दिने समय २:३० देखि आधा घण्टालाई राखिएको छ ।
उम्मेदवारविरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।







तपाईको कमेन्ट लेख्नुहोस्