Techie IT
मंगलबार, मंसीर १०,२०८२

महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेको पाँच बुँदे निर्देशन


मंसिर । नेकपा (एमाले)को ११ औं महाधिवेशनको प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णयहरु गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो ।

अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

यसैगरी, कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ ।

यस्तै, १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नुपर्ने प्रतिनिधि छनोटलाई नसार्न निर्देशन गरेको छ ।

केही जिल्लाहरुमा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्याधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँभन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनोटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरुलाई समय मै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजिकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११ औं महाधिवेशनको मंसिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् ।

एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्