Techie IT
सोमबार, पुस १४,२०८२

एकादशी मेलामा सेनाद्वारा निःशुल्क स्वास्थ्य सेवा, ११६ भक्तजनले लिए उपचार


खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारस्थित ऐतिहासिक तथा धार्मिक स्थल मनकामना धाममा लागेको एकादशी मेलामा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ११६ जनाले सेवा लिएका छन्।

खाँदबारीस्थित इन्द्रदल गुल्मले शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरेको उक्त शिविरमा ६२ जना पुरुष र ५४ जना महिलाले उपचार सेवा प्राप्त गरेका हुन्।

गुल्मका गुल्मपति सेनानी नवराज बस्नेतका अनुसार, मेलामा लामो दूरी हिडेर आउनुहुने भक्तजनहरूका लागि स्वास्थ्य जोखिम हुन सक्ने भएकाले सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो शिविर सञ्चालन गरेको हो। “मेलामा भीड बढ्ने भएकाले सामान्य स्वास्थ्य समस्या देखिने गर्छ, त्यसलाई ध्यानमा राख्दै हामीले सेवा दिएका हौं,”उहाँले भन्नुभयो।

संखुवासभाको तुम्लिङटारस्थित मनकामना धाममा आयोजित एकादशी मेलामा सेनाद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका भक्तजन।

शिविरमा इन्द्रदल गुल्मका र  हिलेबाट आएका सेनाका चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले संयुक्तरुपमा रक्तचाप, मधुमेह, ज्वरो, रुघाखोकी, शरीर दुखाइ लगायतका सामान्य रोगहरूको परीक्षण र निःशुल्क औषधि वितरण गरेको थियो।

मेला आयोजक तुम्लिङटार स्पोर्टिङ क्लबका अध्यक्ष देबेन्द्र घिमिरेले सेनाको यो जनमुखी कार्यप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सेनाले गरेको स्वास्थ्य सेवा मेलामा सहभागी भक्तजनका लागि सहज र उपयोगी रह्यो।”

स्थानीय बासिन्दाले पनि सेनाको मानविय पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले धार्मिक मेलाको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुर्‍याउने बताएका छन्।

संखुवासभाको मनकामना घाममा लाग्ने एकादशी मेला ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। हरेक वर्ष लाग्ने यस मेलामा संखुवासभाका साथै भोजपुर, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लाबाट समेत भक्तजनहरू मनोकामना देवीको दर्शन गर्न आउने गर्दछन।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #ईन्द्र दल गुल्म खाँदबारी, #निशुल्क स्वास्थ शिबिर, #नेपाली सेना, #मनकामना धाम, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्