माओवादी र नेकपा एसबीच एकीकरण पक्का, नेतृत्व टुंग्याउन प्रचण्ड–माधवलाई जिम्मा
काठमाडौं । वाम घटकबीच एकता प्रयास तीव्र बन्दै गएको बेला नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरण लगभग पक्का भएको छ । उक्त एकतामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई समेत समेट्ने चर्चा जारी छ।
वार्तामा संलग्न नेताहरूका अनुसार माओवादी केन्द्र र नेकपा एसबीच अब पार्टी एकीकरणका विषयमा कोई विशेष मतभेद बाँकी छैन। नेतृत्व संरचना टुंगो लगाउने जिम्मेवारी माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई दिइएको एक वार्ता सदस्यले बताए।
निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयसीमाभन्दा अघि नै एकीकरण घोषणा गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। तर चुनाव चिन्हबारे अन्तिम सहमति भने हुन बाँकी छ। नेकपा एसले ‘कलम’ कायम राख्न चाहेको छ भने माओवादी केन्द्रले नयाँ चिन्ह खोज्ने प्रस्ताव राखेको छ।
सिद्धान्त, नीति र नामबारे सहमति
स्रोतका अनुसार एकीकरणपछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने कार्यनीति ‘नेपाली विशेषतासहितको समाजवाद’ हुनेछ। यस क्रममा माओवादी केन्द्रले माओवादलाई त्याग्नेछ भने नेकपा एसले पहिले नै जनताको बहुदलीय जनवाद (जबज) परित्याग गरिसकेको छ। तथापि जबजका केही आधारभूत मूल्यहरू भने नयाँ पार्टीको नीतिमा समेटिने नेकपा एसका नेताहरूले बताएका छन्।
पार्टी नामबारे ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिस्ट पार्टी समाजवादी’ राख्ने प्रस्ताव छ। ‘नेकपा समाजवादी केन्द्र’ नाम पनि प्रस्तावित भए पनि छोटकरी नाम ‘नेकपा सके’ हुने भएकाले सो विकल्पलाई प्राथमिकता नदिने सहमति भएको छ।
नेतृत्व मोडालिटी
नेतृत्वको टुंगो अब प्रचण्ड र माधवकुमार नेपालले मिलाएर गर्नेछन्। प्रारम्भिक मोडालिटीमा प्रचण्ड संयोजक र माधव नेपाल सह–संयोजक रहने प्रस्ताव छ। दुई अध्यक्षको विकल्प पनि चर्चा भएपनि अघिल्लो मोडेल असफल भएकाले दोहोर्याउन नहुने निष्कर्ष दुवै पक्षले निकालेका छन्। यदि विप्लव समूह समेत समावेश हुने हो भने ‘अध्यक्ष मण्डल’ मोडेलबारे पुनः छलफल हुनसक्ने बताइएको छ।
वार्ता टोलीका एक सदस्यका अनुसार, “एकतामा अब जटिलता छैन। पहिले नेकपा एसभित्र एमालेमा ठूलो पङ्क्ति फर्किने हो कि भन्ने अन्योल थियो, तर अहिले त्यो अवस्था हटेको छ। झलनाथ खनाल र घनश्याम भुसालको व्यवस्थापनसमेत हुने भएपछि अब एकता पक्का जस्तै छ।”
मुख्य नेतृत्व सहमतिपछि दुवै पक्षका पदाधिकारी समावेश हुनेगरी सचिवालय तथा अन्य संरचनाको पुनर्संयोजन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रचण्ड–माधवले छिटो निर्णय लिएर एकता घोषणा गरे अन्य वाम घटकसँग पनि एकताका लागि अनुकूल वातावरण बन्ने नेतृत्व तहको विश्वास छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी केन्द्र–नेकपा एस एकता पक्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्