‘जेन जी’ का अगुवा बालेनभन्दा जेठा, उमेर कती ?
काठमाडौं । जेनजीको आन्दोलनलाई समर्थन गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सडकमै उत्रिन भने असमर्थता प्रकट गरे । आन्दोलनको अघिल्लो दिन उनले फेसबुकमा स्टटास लेख्दै उमेर हदका कारण आफू जेनजी आन्दोलनमा सहभागी हुन नसक्ने बताएका थिए ।
‘जेनजी’ भनेर सामान्यरूपमा सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूलाई जनाउँछ, जो उमेरले १३ देखि २८ वर्षभित्रका छन् । बालेन भने २०४७ सालमा जन्मिएका हुन् र उमेरले ३५ वर्ष पुगे । उमेर समूहका आधारमा आफू जेनजी नभएकाले हुँदा आन्दोलनमा सहभागी हुन नमिल्ने उनले तर्क गरेका हुन् । तर, जेनजी आन्दोलनका सुरुवाति अगुवा नै यो उमेर समूहभित्रका नरहेको खुलेको छ ।
उनी हुन् ३८ वर्षीय सुधन गुरुङ, जो अहिले जेनजीहरूको प्रतिनिधिका रूपमा शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्तामा बसिरहेका छन् । जेन जीहरुबाट अगाडि सारिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने लगभग निश्चित देखिएको छ । तर, संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।
हुन त जेनजीले कसैलाई पनि आन्दोलनको अगुवा वा संयोजक भनेर तोकेका छैनन् । तर, चर्चित बेलायती पत्रिका इकोनोमिक टाइम्सदेखि प्रायः भारतीय मिडियाले उनलाई नै आन्दोलनका सूत्रधारका रूपमा चित्रण गरिरहेका छन् । उनको विषयमा विस्तृत रिपोर्ट नै बनाएका छन् । हिजो सुधनले नै एक वरिष्ठ सैनिक अधिकृतलाई फोन गरेर सुशीला कार्कीको नाम फाइनल गर्न अल्टिमेटम दिएका थिए । तत्काल निर्णय नगरेको खण्डमा पुनः आन्दोलनमा उत्रिएर गोली थाप्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडिओ सार्वजनिक भएको थियो ।
आफूले आन्दोलनको नेतृत्व गरेको भनेर सुधनले रिपोर्टस क्लबमा पत्रकार सम्मेलनसमेत गरेका थिए । यो सबै कारणले राष्ट्रपति कार्यालयले समेत उनलाई अगूवा ठानेर वार्ताको टेबलमा राखेको हो । यद्यपि, सुधनको विषयमा विभिन्नथरि टिकाटिप्पणीहरु पनि भइरहेका छन् । उनी नेपाली मूलका भारतीय हुन् भनेर अफवाह पनि फैलिएको थियो ।
सुधन खासमा नेपाली नै हुन् । उनी काठमाडौंमा जन्मिएका थिए । आमाबुवाको सम्बन्ध विच्छेद भएपछि हजुरबा हजुरआमासँग हुर्किए । उनको थातथलो भने गोर्खा, जिल्ला चुमनुव्री गाउँपालिका-३ हो । काठमाडौंमा हुर्किएका सुधनले पढाइमा खासै प्रगति गर्न सकेनन् । एसएलसीपछि ए लेभलसम्म पढे । उतिबेलै साथीभाइको संगतले क्लब, डिस्को जाने बानी बसालिसकेका थिए । यहीबीच उनले डिजेको रूपमा काम गरे । डिजे करिअरलाई राम्रै उचाइमा पुर्याएका उनले सन् २०१२ मा ठमेलमा ओएमजी नामको क्लब सञ्चालन गरे । क्लबकै मालिक भएपछि उनको आयआर्जन राम्रै भयो ।
तर, २०७२ सालको भूकम्पले सुधनलाई सामाजिक सेवातिर मोड्यो । भूकम्पबाट काठमाडौं थिलथिलो भएको थियो । हजारौं मानिस मरेका र हजारौं घाइते भएका थिए । तीनै घाइतेको सहयोगार्थ उनी वीर अस्पतालमा खटिए । सँगसँगै अरु साथीहरू पनि सुधनसँग जोडिँदै गए ।
यही बेला सुधनले अहिले चलाइरहेको ‘हामी नेपाल’ नामक एनजीओ जन्मियो । यो एनजीओमा अहिले १६०० बढी सदस्य छन् । यसमा देशी-विदेशी कम्पनीहरूबाट डोनेसन प्राप्त हुने गरेको छ । भाइबर, कोकाकोलाजस्ता ठूल्ठूला कम्पनीबाट यो संस्थाले डोनेसन लिएको छ । साथै नेपाली कलाकारहरूले पनि व्यक्तिगत रूपमा सहयोग गरेका छन् । यो एनजीओको संरक्षकको रूपमा चिकित्सक सन्दुक रुइत छन् ।
रात्रिकालीन व्यवसायबाट समाजसेवामा मोडिएका सुधनले भूकम्पका पीडितहरूलाई सहयोग गरेर राम्रो चर्चा कमाए । यसपछि रात्रीकालीन व्यवसायमा फर्किएनन् । बरु घरजग्गा कारोबार, रियलस्टेट र एडभेन्चर बिजनेसतर्फ लागेको उनका निकटस्थहरु बथाउँछन् ।
सुधनले पोखरा फेवातालको टेण्डर २५ वर्षका लागि समेत पाएका छन् । त्यहाँ उनले वाटर स्पोर्टस् खेलाउँछन् । कोरोनाकालमा पनि उनले विरामीहरुलाई एकदमै सहयोग गरे । रातविरात खटेर, अक्सिजन सिलिण्डरको जोहो गरेर विरामीको ज्यान बचाएको भिडियोहरु अहिले पनि युट्युबमा हेर्न सकिन्छ ।
यो बीचमा सुधन धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग पनि नजिक बने । मेयर साम्पाङको श्रमदान अभियानमा सक्रिय रहेर ढुंगा बोके । त्यसपछि साम्पाङकै केही समर्थकहरुलाई लिएर सेभ घोपा आन्दोलन चलाउन सुरु गरे ।
तीन वर्षअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा प्रभावकारी बनाउन विभिन्न माग राखेर सुरु गरिएको घोपा बचाउ आन्दोलनमा सुधन जोडिएका थिए । नजिक र घनिष्ठ भएको नाताले सुधनले सेभ घोपाको आन्दोलनमा हर्क साम्पाङ आएर सम्बोधन गरिदेओस् भन्ने चाहेका थिए । उनले बारबार साम्पाङलाई बोलाएका पनि थिए । तर, साम्पाङ आइदिएनन् ।
साम्पाङ नआइदिएपछि सुधनले एक युट्युब पोडकास्टमा गएर भँडास पोखे । ढुंगा बोकेर विकास नहुने, मेयर साम्पाङ काम नलाग्ने भन्दै सक्ने भए राम्रो विधि बनाएर धरान उपमहानगर चलाएर देखाउन चुनौति दिए । सुधन अभिव्यक्तिको क्लीप संजालमा भाइरल भयो ।
यसपछि त के चाहियो, आलोचनाको ‘आ’समेत सुन्न नचाहने मेयर साम्पाङ सुधनसँग क्रुद्ध भए । यसपछि नै उनीहरूबीच जुँघाको लडाइँ सुरू भएको बताइन्छ । एकले अर्काको अस्तित्व नमान्ने अवस्था आएपछि दुवैबीच सम्पर्क नै विच्छेद भयो । अहिले दुवै आ–आफ्नो बाटो लागेको र बोलचाल नै बन्द भएको बताइन्छ ।
अहिले सुधन गुरुङ हामी नेपाल नामक संस्थामार्फत् जेन जी आन्दोलनमा जोडिएका मात्रै छैनन्, आन्दोलनको प्रतिनिधित्व गर्दै वार्ताको टेबलमा बसिरहेका छन् । तर, सुरुवातमा जेन जीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हामी नेपाल संस्थाले पानी वितरण गर्दै भोल्युन्टेयर गर्ने बताइएको थियो । यस विषयमा उनले इस्न्टाग्राममा भिडियो बनाएर पोस्ट समेत गरेका थिए । अहिले जेनजीकै आन्दोलनको नेता भएपछि भने सुधनले उक्त भिडियो हटाएका छन् ।
अर्कातिर सुधन जेन जीको टाइमलाइनभित्र पनि पर्दैनन् । उनी ३६ वर्षमाथिका हुन् । सुधनको नागरिकतामा ‘जारी मिति’ २०६१ साल असार १३ गते उल्लेख छ । नागरिकता लिन १६ वर्ष उमेर पुगेको हुनुपर्छ । १६ वर्ष पुग्नासाथ नागरिकता लिएको मान्दा पनि उनी ३६ वर्षका भएका छन् । निकट स्रोतले भने उनको वास्तविक उमेर ३८ वर्ष रहेको बताएको छ । अर्थात् उनी मेयर बालेनभन्दा जेठा छन् ।
सुधन गुरुङ भारतीय नागरिक हुन् भन्ने हल्ला पनि चलेको छ । खासमा एउटै नाम र थरका दुई व्यक्ति (एक भारतीय र एक नेपाली) भएकाले धेरैलाई भ्रम परेको हो । यस्तो अफवाह फैलिएपछि भारत, दार्जिलिङका सुदन गुरुङले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘जेन जी’ का अगुवा बालेनभन्दा जेठा, #breaking, #हर्क साम्पाङसँग पानी बाराबार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्