Techie IT
आईतबार, असार १५,२०८२

सार्वजनिक बिदाको दिनपनि जनताको काममा टोखाका मेयर र वडाध्यक्ष


काठमाडौं, असार १४ । सामान्यतया सार्वजनिक बिदा र शनिबारका दिन सरकारी कार्यालयहरू बन्द हुन्छन्, जनप्रतिनिधिहरू विश्राममै हुन्छन्। तर टोखा नगरपालिकामा भने यस्तो दृश्य फरक देखिन्छ। शनिबार बिदाको दिन पनि नगरप्रमुख प्रकाश अधिकारी र अन्य जनप्रतिनिधिहरू जनताको सेवामा खटिरहेका भेटिन्छन्।

टोखा नगरपालिकाले सञ्चालन गर्दै आएको नदी सरसफाइ अभियानले आज शनिबार ५७औँ हप्ता पूरा गरेको छ। नगरपालिकाको २०८१ वैशाख २० गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार हरेक शनिबार विष्णुमती, साङ्गलेखोला लगायतका नदीहरूको सरसफाइ नियमित हुँदै आएको छ।

नगरपालिकाको यो अभियानमा जनप्रतिनिधिहरू, नगर र वडा कार्यालयका कर्मचारी, स्वास्थ्य कार्यालय, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक तथा संस्थागत विद्यालयहरू, क्लबहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा आम नागरिकको सहभागिता रहने गरेको छ।

शनिबार नगरप्रमुख प्रकाश अधिकारी आफैँ ८ र ११ वडाको सिमाना फ्लोरोसेन्ट स्कुलको गेटबाट ५०० मिटर पूर्वको सरसफाई कार्यक्रममा सहभागी हुनुभएको छ । नगरप्रमुख अधिकारीले सरसफाइ सबैको साझा अभियान भएकाले यसमा सम्पूर्ण नगरबासीको सहभागिता आवश्यक रहेको बताउनुभयो । शनिबार सातामा एक दिन सामाजिक कार्य र सरसफाइ अभियानमा सहभागी हुनु सचेत नागरिकको कर्तव्य हो, उहाँले स्वस्फूर्त रूपमा सहभागी हुन सबैमा आग्रह गर्नुभयो।

त्यस्तै, टोखा नगरपालिका वडा नं. ८ का अध्यक्ष रमेश खत्री शनिबारको दिन वडामा आइपरेको समस्या समाधान गर्न आफैँ फिल्डमा खटिनुभयो। वडा नं. ८ अन्तर्गत विभिन्न स्थानमा सडकबत्ती बिग्रिएको गुनासोपछि खत्री कर्मचारीहरूलाई लिएर फिल्डमा पुग्नुभएको थियो। ‘जनताको काम शनिबार नै भए पनि गर्नुपर्छ। आज बिहान खटियौँ, कतिपय ठाउँको बत्ती बनाउने काम पूरा भयो, केही ठाउँको भने बाँकी छ, भोलिदेखि फेरि जारी राख्छौँ,’ उहाँले भन्नुभयो।

उहाँले भन्नुभयो, ‘नगरपालिकाले नदीनाला सफा गरिरहेको छ भने वडाका टोलटोलमा पनि सरसफाइ अभियान भइरहेका छन्। सूचना आएपछि हामी वडा अध्यक्ष, वडा सदस्यहरू पनि त्यहाँ पुग्छौं।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक बिदाको दिनपनि जनताको काममा टोखाका मेयर र वडाध्यक्ष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:09 am7:04 pm +0545