Techie IT
शुक्रबार, जेठ १०,२०८२

‘विमानस्थलबाट ५०औँ लाख भ्रष्टाचारको रूपमा सरकारको हातमा जाँदैछ’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बेठीक बाटोमा गइरहेको आरोप लगाएका छन् । जागरण अभियानअन्तर्गत बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर लागेको बताए।

उनले भने, ‘अहिले म सुन्दैछु विमानस्थल भन्सारमा लाखौँ–करोडौँको घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ। अहिले एउटै रुटबाट सरकारको हातमा ५०औँ लाख गइरहेको छ भ्रष्टाचारको रूपमा । यो स्थिति भएपछि कसरी आर्थिक स्थितिमा सुधार हुन्छ ?’

प्रचण्डले अहिले अभियानमा हिँड्नुको पछाडि पनि सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नु मुख्य उद्देश्य भएको बताए।

उनले थपे, ‘हामी अहिले सरकारलाई खबरदारी गरिरहेका छौँ, यसबाट पनि शिक्षा लिँदैन भने आन्दोलित हुने तयारीको पनि उद्देश्य रहेको छ।’

उनले देश बन्दैन, कुनै पार्टी पनि राम्रा छैनन् भन्ने भाष्य बनेकोप्रति चिन्ता व्यक्त गरे।

प्रचण्डले भने, ‘यदि सरकारले आफूलाई सच्याउनेतिर गएन भने नेपालका निकै ठूलो जनआन्दोलनको स्थिति बन्नेछ । जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दैछ। सरकार उल्टो बाटो चल्दै गएको छ। जति उल्टो बाटोमा चल्छ त्यति जनतामा आक्रोश बढ्छ।’

अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतले अहिले सरकारलाई खबरदारीमात्रै भनेको बताए ।

उनले थपे, ‘हामीले आन्दोलनको अपिल अझै गरेका छैनौँ, तर सरकार यही रूपले अगाडि बढ्ने हो भने सायद आउने वर्षापछि शक्तिशाली आन्दोलन नेपालमा बन्छ । त्यसले नयाँ आर्थिक र सांस्कृतिक क्रान्तिको वातावरण बन्छ । समाजलाई नयाँ समृद्धिको यात्रा त्यहाँबाट हुनेछ । तर हामी चाहन्छौँ । यो सरकारले समयमै चेतोस्। माओवादीले जब गम्भीर ढङ्गले अपिल गर्दै हिँड्छ त्यसको विशेष अर्थ र महत्त्व हुन्छ । विगतमा पनि हामीले उठाएको विषयलाई गम्भीरतापूर्वक नलिँदा १० वर्षे जनयुद्धको रूपमा विद्रोहले जन्म लियो ।’


क्याटेगोरी : समाचार
ट्याग : #‘विमानस्थलबाट ५०औँ लाख भ्रष्टाचारको रूपमा सरकारको हातमा जाँदैछ’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Thunderstorm
5:09 am6:51 pm +0545