Techie IT
शुक्रबार, जेठ १०,२०८२

गिनिज वर्ल्ड रेकर्ड होल्डर सज्जन डंगोलद्वारा सगरमाथा सफल आरोहण, टोखा नगरपालिकाबाट विशेष सम्मान


काठमाडौं । काठमाडौं टाेखाका सज्जन डंगोलले विश्वको सर्वोच्च शिखर सगरमाथा (Mt. Everest) सफलतापूर्वक आरोहण गरेका छन् । उनले २०८२ सालको बैशाख ३१ गते बिहान ७:५० बजे सगरमाथाको शिखरमा नेपाली झन्डा फहराउँदै ऐतिहासिक पाइला टेकेका हुन् ।

यो गौरवपूर्ण उपलब्धिपछि टोखा नगरपालिकाले विशेष सम्मान कार्यक्रमको आयोजना गर्दै डंगोललाई नगरको नाम उच्च बनाएकोमा कृतज्ञता प्रकट गरेको छ । टोखा नगरपालिकाको आयोजनामा नगर प्रमुख प्रकाश अधिकारीद्वारा नगर खेलकुद विकास समितिका संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष नरोत्तम राना तथा अन्य पदाधिकारीहरूको विशेष उपस्थितिमा डंगोललाई सम्मानपत्र, दोसल्ला र फूलमालाले सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले भन्नुभयाे, “सज्जन डंगोलले सगरमाथा आरोहणमार्फत टोखा नगरको मात्र होइन, सम्पूर्ण मुलुकको गौरव बढाउनुभएको छ । उहाँको यस सफलताले हाम्रा युवाहरूलाई प्रेरणा मिल्नेछ । टोखा नगरपालिकाको तर्फबाट हामी उहाँलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौं ।”

कार्यक्रमका अन्य वक्ताहरूले पनि डंगोलको साहस, आत्मबल, अनुशासन र पर्वतारोहणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नु भएकाे थियाे । हाल बेलायतमा कार्यरत डंगोल गिनिज वर्ल्ड रेकर्ड होल्डरसमेत हुनुहुुन्छ ।

उहाँले सन् २०२४ को फेब्रुअरीमा एक घण्टामा वैकल्पिक खुट्टा प्रयोग गरेर ९,२१८ पटक फुटबल (सकर बल) टच गरी नयाँ विश्व कीर्तिमान कायम गर्नु भएको थियाे । सगरमाथा आरोहणसँगै उहाँले फेरि एकपटक नेपाली युवाहरूको साहस, लगनशीलता र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता पुष्टि गर्नु भएको छ । उहाँको यस सफलताका लागि देश–विदेशबाट बधाई सन्देशहरू प्राप्त भइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #गिनिज वर्ल्ड रेकर्ड होल्डर सज्जन डंगोलद्वारा सगरमाथा सफल आरोहण, #टोखा नगरपालिकाबाट विशेष सम्मान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:51 pm +0545