Techie IT
बुधबार, जेठ ८,२०८२

नियमित विद्यालय उपस्थिति हुने विद्यार्थी सम्मानित


ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थासमेतलाई दृष्टिगत गरी विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गर्न नगदसहित सम्मान गर्न थालिएको हो ।

फुङ्लिङ नगरपालिका–८ ले विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउन वडाभरीका विद्यालयमा अध्ययनरत तीन–तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । वडाभित्रका सात वटा विद्यालयमा अध्ययनरत तीन–तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो ।

वडाध्यक्ष सुनुवारका अनुसार विद्यालयमा नियमित आउनेमध्ये सबैभन्दा बढी उपस्थित हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । विद्यालयमै सबैभन्दा बढी उपस्थित हुने विद्यार्थीलाई १५ हजार रुपियाँ, त्यसपछि उपस्थित हुनेलाई १० हजार र तेस्रो बढी उपस्थित हुने विद्यार्थीलाई पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको सुनुवारले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिलाई प्रोत्साहित गर्न नगदसहित सम्मान गर्न सुरु गरिएको हो । विद्यार्थीको उपस्थितिलाई प्रोत्साहित गर्न नगदसहित सम्मान गर्नाले विद्यार्थीहरु नियमित विद्यालय आउने, उनीहरुको शिक्षा सुधारमा प्रगति हुने र समग्र शैक्षिक गुणस्तर वृद्धि गर्नमा टेवा पुग्ने विश्वास राखिएको वडाध्यक्ष सुनुवारको भनाइ छ ।

सम्मानले विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित हुन प्रेरित गर्नुका साथै पढाइप्रति विद्यार्थीको रुची बढाउनमा पनि सहयोग पुग्ने अपेक्षा राखिएको सुनुवारको भनाइ छ । उहाँका अनुसार कापी, डटपेन, पेन्सिल, झोला, पोसाकजस्ता शैक्षिक सामग्री जुटाउनलाई आर्थिक व्यवस्थापन गर्न नसक्ने विपन्न परिवारका विद्यार्थीलाई नगदसहितको सम्मानले राहत पुग्ने छ ।

खस्किँदो शैक्षिक गणस्तरमा सुधार ल्याउने उद्देश्यसहित यसअघि वडामा आयोजित शैक्षिक सम्मेलनमार्फत घोषणा भएको कार्यक्रमको कार्यान्वयन गरिएको पनि वडा कार्यालयले जनाएको छ । विद्यालयमा विद्यार्थीको उपस्थितिलाई प्रोत्साहित गर्न नगदसहित सम्मान गरे जस्तै वडा नम्बर ८ ले वडाभित्र कसैको निधन भएमा सम्बन्धित परिवारलाई मृत्यु भएका सदस्यको काजकिरिया खर्चका लागि तत्काल १० हजार रुपियाँ नगद सहयोग गर्नेजस्ता रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नियमित विद्यालय उपस्थिति हुने विद्यार्थी सम्मानित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:10 am6:50 pm +0545